Wednesday, June 29

काठमाडौं उपत्यकामा थपियो फेरी निषेधाज्ञा, यस्ता नियम कडाइका साथ पालना गर्ने निर्णय

August 3, 2021 146

काठमाडौ । काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा थपिएको छ । महामारीको जोखिम कायम रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । कोभिडको नयाँ भेरियन्टको जोखिम समेत भएकाले यस अघि लागू गरिएका नियमलाई कडाइका साथ पालना गर्ने निर्णय पनि जिल्ला प्रशासन कार्यालयले गरेको छ ।

काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । पहिलेकै निर्णयहरूलाई कडाइका साथ पालना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नियम कडाइका साथ पालना नगर्दा महामारीको जोखिम थप बढेका कारण अब कडाई गरिने भएको छ । मंगलबारमात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो। अहिलेको निषेधाज्ञाले सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरीलगायत भीडभाड हुने ठाउँ खोल्न प्रतिबन्ध लगाएको छ।

शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

दिनहुँ महामारीको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्‍याली लगायतका भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलवार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा कोभिडको नयाँ भेरियन्टका संक्रमित थपिन थालेका छन् ।

बढि संक्रामक मानिएको कोभिडका संक्रमित बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालयले भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर बढाउन सक्ने भएकाले स्वास्थ्य मापदण्डको ख्याल गर्न आग्रह गरेका हुन् ।

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्