Thursday, July 7

कक्षा १२ सहितका सबै परीक्षा स्थगित

August 6, 2021 345

काठमाडौँ – कक्षा १२ सहित विभिन्‍न विश्‍वविद्यालयका परीक्षा स्थगित हुने भएका छन् । कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै साउन ३१ गतेबाट तोकिएको कक्षा १२ को परीक्षा स्थिगत हुने भएको हो । सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्‍त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा गरेका हुन् ।

‘कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ,’ स्वास्थ्य राज्यमन्‍त्री श्रेष्‍ठले सार्वजनिक गरेको सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजनाको बुँदा नम्‍बर ११ मा भनिएको छ । परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन । परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व निर्णय गरिने प्रतिबद्धतामा उल्लेख छ ।

सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना
मुलुक अहिले विश्वव्यापी कोभिड-१९ महामारीबाट सिर्जित जनस्वास्थ्य सङ्कटको कठिन परिस्थितिबाट गुज्रिरहेको छ । ‘महामारीबाट बाँचौ र बचाऔं’ हामी सम्पूर्ण नेपालीको मूलमन्त्र भएको छ । सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा गठित पाँच दलीय गठबन्धन सरकारले आम नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम तथा उपचार, खोप व्यवस्थापन र कोभिड-१९ सङ्क्रमितको निशुल्क तथा सर्वसुलभ उपचारलाई सर्वोच्च प्राथमिकता निर्धारण गरेको छ । त्यसैले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले प्रतिबद्धता व्यक्त गरेअनुसार मैले खोप आयात, भण्डारण र सहज ढङ्गले वितरण गरी नेपाली नागरिकको जीवन रक्षा गर्ने गहन जिम्मेवारीलाई राष्ट्रिय अभियानको रूपमा अगाडि बढाईरहेको जानकारी

सम्पूर्ण नेपाली नागरिकलाई गराउन चाहान्छु । शनिबारसम्म ५६ लाख ८२ हजार ६ सय २७ मात्रा खोप लगाइसकिएको छ भने असोज महिनाको अन्त्यसम्म २ करोड ४३ लाख डोज खोप आपूर्ति हुने सुनिश्चित भइसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड १० लाख खोप गरी २ करोड २३ लाखको खोप खरिद प्रक्रियामा रहेको छ । कुल जम्मा ४ करोड ६६ लाख खोप प्राप्त हुने अवस्था छ । खोप आपूर्ति र प्रभावकारी वितरण गरी निकट भविष्यमा महामारी नियन्त्रण गरी जनजीवनलाई सहजता र सामान्यीकरणको दिशातर्फ फर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण प्रयास केन्द्रित भएको छ ।

यद्यपि, पछिल्लो समय बढ्दो सङ्क्रमण र संभावित तेस्रो लहर हाम्रा अगाडि चुनौतीको रूपमा देखा परेको छ । उक्त चुनौतीसँग सामना गर्न हामीले जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरी आफू, परिवार र समुदायलाई जोगाउन हरेक नागरिकले निष्ठापूर्वक योगदान गर्न सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक अपिल गर्दछु । तपाईं-हाम्रो सचेत व्यवहार र जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालनाले महामारी फैलनबाट रोक्न सकिन्छ । महामारी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच प्रभावकारी संयोजन र समन्वय स्थापित गर्दै लगेका छौं

जनस्वास्थ्य सङ्कटको यस विषम परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा मैले केही नीतिगत प्रतिबद्धताका साथै योजना र कार्ययोजना तय गरेको छु । त्यसैले मैले आज तपाईँहरू समक्ष ती प्रतिबद्धता, योजना र कार्ययोजनाहरू प्रस्तुत गर्न गइरहेको छु ।

एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिबद्धतालाई साकार बनाई नेपाली जनताको जीवन रक्षा गर्नु मेरो सर्वोच्च प्राथमिकता हुनेछ । त्यसैले खोप खरिद र उचित व्यवस्थापन गरी तथा वितरण प्रणालीमा अविलम्व आवश्यक सुधार गरी निर्धारित समय भित्रै सम्पूर्ण नेपाली नागरिकलाई खोप लगाइने प्रतिबद्धता व्यक्त गर्दछु । सरकारले पहिलो चरणमा कोभिशील्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अष्ट्राजेनेका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिनेछ । दोस्रो मात्रा खोपको प्रतिक्षामा रहनु भएका जेष्ठ नागरिकहरूलाई अविलम्व खोपको व्यवस्थापन गर्नेछु ।

२) खोपको प्रभावकारी रूपमा समन्यायिक वितरण गरिनेछ । आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण र बढी आवागमन हुने र जनसांख्यिक चाप रहेका प्रमुख शहरी केन्द्रहरू काठमाडौँ उपत्यका, बुटवल-भैरहवा, पोखरा, वीरगञ्ज, विराटनगर, धनगढी, नेपालगञ्ज, सुर्खेत, जनकपुर, दमक लगायतका सहरमा प्रदेश तथा स्थानीय सरकारसंग समेत परामर्श र समन्वय गरी खोप केन्द्र थप गरी अझै सुलभ, व्यवस्थित र सरल ढंगले खोप वितरण गरिनेछ । मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर-किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु । कोभिड-१९ विरुद्धको खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनामाथि पनि हामीले अध्ययन अघि बढाएका छौं । खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा छ । यसैगरी फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भर्इ उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भएको छ ।

महामारीको कारणले सिर्जना भएको अत्यन्त प्रतिकूल अवस्थाका बाबजूद अग्रपंक्तिमा रहेर विशिष्ट काम गर्नु हुने चिकित्सक, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मी, सफाइकर्मी, स्वयंसेवक-स्वयंसेविकाका अतिरिक्त स्वास्थ्य क्षेत्र बाहिर पनि अग्रभागमा रहेर हरेक प्रकारका सेवा, शान्ति सुरक्षा, शव व्यवस्थापनमा खटिनुभएका सम्पूर्णमा हार्दिक आभार तथा नमन गर्दछु । यहाँहरूको अथक प्रयास र लगनशिलता तथा यहाँहरूले वहन गर्नुभएको जिम्मेवारीको मुक्तकण्ठले प्रशंशा गर्दछु । महामारी नियन्त्रण हामी सबैको साझा जिम्मेवारी भएकोले सबै सरोकारवाला निकायहरू तथा आम नेपाली जनसमुदायबाट सहयोगको अपेक्षा गरेको छु ।

प्रतिकृया दिनुहोस्