Friday, April 16

अर्जेन्टिनी फुटबलर म्याराडोना अब सम्झनामा मात्रै

November 26, 2020 267

र्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।

अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो ।

दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

छ वर्षको उमेरदेखि नै फुटबलसित नाता जोडेका म्याराडोना धेरैधेरै जनालाई फुटबल खेलप्रति आकर्षित गराउने उत्प्रेरक पनि हुन्।

उनले अर्जेन्टिनोज जुनियर्स, बोका जुनियर्स, नेपोली, सेभिलाजस्ता क्लबहरूबाट खेले र ती क्लबहरूलाई अभूतपूर्व सफलता दिलाए ।

खासगरी इटालियन क्लब नेपोलीका लागि त उनी भगवान् नै मानिन्छन् ।

कुल २७ वर्षको आफ्नो लामो र विवादग्रस्त सक्रिय फुटबल जीवनमा उनले जति सुनाम कमाए, त्यति नै बदनामी पनि पाए। जति आकर्षण कमाए, त्यति नै विकर्षण पनि पाए । उनी विश्वमै सम्भवतः एक मात्र त्यस्ता फुटबल खेलाडी हुन्, जसका जति धेरै प्रशंसक-समर्थकहरू छन्, त्यति नै आलोचकहरू पनि ।

प्रतिकृया दिनुहोस्