Monday, June 27

फेरि बढ्दै कोरोना त्रास, संक्रमण बढेपछि ‘लकडाउन’को तयारी

October 26, 2021 136

काठमाडौं। केही महिना मत्थर भएको कोरोना संक्रमण पुन विभिन्न देशमा फर्कन थालेको छ । सबै गतिविधि लयमा ल्याइसकेको चीनले बढ्दो संक्रमणलाई लिएर सतर्कता अपनाउन सुरु गरेको छ।

संक्रमण दर बढेको रुस निषेधाज्ञाको सुरसारमा छ । आगामी नोभेम्बर ७ देखि ३० सम्मका लागि सेन्ट पिटर्सबगसहित मुख्य शहरमा पसललगायतका क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ। संक्रमण दर यही रफ्तारमा बढेको अवस्थामा अन्य शहरमा पनि प्रतिबन्ध लगाउने भन्दै सचेत रहन रुस सरकारले आग्रह गरेको छ।

बेलायत, युक्रेन, मेक्सिको, थाइल्याण्ड, जर्जिया, लिथुवानिया, दक्षिण कोरिया, मङगोलिया, अष्टेलियालगायतका देशमा पनि अनपेक्षित संक्रमणको प्रभाव देखिएको छ । संक्रमण बढ्न थालेपछि बेलायत सरकारले वुस्टर डोज खोपलाई प्रभावकारी बनाउने योजना ल्याएको छ । युक्रेनमा पठनपाठन ठप्प छ।

छिमेकी देश भारत, पाकिस्तानलगायत दक्षिण एसियाली देशमा दोस्रो, अमेरिका, बेलायतलगायत देशमा तेस्रो र चौथो लहरको संक्रमण फैलिसकेको छ । हाल डेल्टा प्लस भेरियन्टको प्रभाव बढी देखिन्छ । उत्परिवर्तित भएर फैलिएको डेल्टा प्लस भेरियन्ट अझ छिटो फैलन सक्ने भन्दै विज्ञहरूले सचेत गराएका छन्।

विश्व स्वास्थ्य संगठनले समेत कोरोना महामारी पूर्ण रूपमा नसकिएका कारण स्वास्थ्य सुरक्षा अपनाउन छाड्न नहुने जनाएको छ । संक्रमण नियन्त्रण गराउने जिम्मा आफ्नै हातमा नै रहेको भन्दै संगठनले कोरोना संक्रमण आफैं नियन्त्रण नहुने निष्कर्ष निकालेको छ।

नेपाल सरकारले असोज १५ देखि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको थियो । तर, परिणाम प्रक्षेपण जस्तो देखिएन । भदौ महिनादेखि केही कम हँुदै गएको संक्रमणका कारण तेस्रो लहर नआउने सम्भावना विज्ञहरूले औंल्याएका थिए।

तर, विभिन्न देशमा संक्रमण दोहोरिन, तेहरिन थालेपछि संकटको कालोबादल नफाटेको बुझिन्छ । यो निदानको एउटै उपाय भनेको आफ्नो डाक्टर आफैं हुनु हो । नबिर्सौं, कोरोना संक्रमणका कारण हालसम्म विश्वमा ४९ लाख ६५ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने २४ करोड ४५ लाख बढी व्यक्ति संक्रमित भइसकेका छन्।

प्रतिकृया दिनुहोस्