Sunday, June 26

तिहारकै बेला बैंकमा काम गर्ने ८ महिनाकी गर्भवती कृतिको मृत्यु

November 7, 2021 131

तिहारमै राजधानीमा एक गर्भवती युवतीको निधन भएको छ ।महामारीको लक्षण नदेखिए पनि उनको ज्यान जानुको कारण संक्रमण नै भएको बताइन्छ । आमाको निधन हुनु अगावै आठ महिना लागेको गर्भको शिशुलाई सुरक्षितसँग निकालिएको छ । शिशुलाई संक्रमण देखिएको छैन, तर अवस्था जटिल भएकाले भेण्टिलेटरमा राखिएको बताइएको छ ।

३० वर्षकी छोरीको अवस्था खराब हुँदै गएपछि केही दिनअघि मृतक युवतीको आमाको हृदय पनि एकाएक बन्द भएको छ । निधन भएकी युवतीका श्रीमान सरकारी सेवाको सिलसिलामा सात समुन्द्रपारी जाने तयारी छन् ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा कार्यरत कृति थापामगरको तिहारको बेला संक्रमणको कारण निधन भएको छ । यसअघि नै दुई डोज खोप लगाइसकेकी थापालाई परीक्षणसम्म पनि कुनै लक्षण नदेखिएको पारिवारिक र कार्यालय स्रोतले बताएको छ । दुई जीउकी उनी दशैंमा टीका लगाउन उपत्यका बाहिर अर्थात् माइत जाँदा संक्रमित भएको आशंका गरिएको छ । तर, दशैंपछि कुनै पनि लक्षण भने नदेखिएको सबैले बताएका छन् ।

बैंकका उनका समकालीनहरु भन्छन्, ‘दशैंपछि थापाको हात गोडा सुन्निएको थियो । पहिले थापाथलीस्थित नर्भिक अस्पतालमा जचाउँदा उनलाई गर्भावस्थाको कारणले शरीरका भाग सुन्निएको भनियो । तर, क्रमशः अवस्था खराब हुँदै गएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरियो ।’

शिक्षण अस्पतालमा भर्ना गरेपछि अवस्था जटिल हुँदै गयो । छोरीको अवस्था जटिल हुँदै गएको कारण आमाको अप्रत्याशित निधन भएको हो । उता परराष्ट्र मन्त्रालयमा कार्यरत मगरका श्रीमान् भने यतिखेर सात समुद्रपारीको ब्राजिलस्थित नेपाली दूतावासमा जाने तरखरमा छन् । श्रीमानको ब्राजिलमा पोष्टिङ भएको छ । गर्भको शिशुलाई जन्माइएको दुई दिनपछि कृतिले यो संसार छाडेकी छन् । शिशुलाई संक्रमण पुष्टि भएको छैन तर अवस्था अझै जटिल रहेको बताइन्छ ।

उनी कार्यरत बैंकको बैंकिङ विभागका एक जना कर्मचारीले भने, ‘संक्रमणको कारण निधन भएको भनिएको छ । तर, उनमा संक्रमणको कुनै पनि लक्षण देखिएन । दशैंपछि उनमा देखिएको समस्या भनेको हात गोडा सुन्निएको मात्र हो । पेटको गर्भ सात पुगेर आठ महिना मात्र लागेको थियो ।’

कृति र उनका श्रीमानको तिहारलगत्तै ब्राजिलमा जाने र नौ महिना पुगेपछि शिशु जन्माउने योजना थियो । त्यसको लागि थापाले आफू कार्यरत विभागमार्फत् बिदाको निम्ति सम्पूर्ण प्रक्रियासमेत पूरा गरेको बताइन्छ । तर, ब्राजिल उड्नु केही साताअघि नै उनले काठमाडौंमा बिना लक्षणको संक्रमणबाट देह त्याग गरेकी छन् । जनआस्था बाट

यो पनि, मिथिलामा छठपर्वको तयारी
मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।

अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ । स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाउन सुरु गरेका छन् ।

जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन् ।

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

प्रतिकृया दिनुहोस्