Saturday, June 19

उपत्यकामा निषेधाज्ञामा थप कडाइ हुँदै, कसैलाई घरबाहिर निस्कन नदिने लगाएत तरकारी पसल पनि बन्द हुन सक्ने

May 24, 2021 217

काठमाडौं । महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । दोस्रो लहरको संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो।

जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए। गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ। सुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुईपटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन्।

उनका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए। ‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको उनले बताएका छन्। तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए।

‘अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लैजाँदै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिनेछ’ सीडीओ पराजुलीले भने ।

निषेधाज्ञालाई थप कडाइ बनाउने तयारीमा जिल्ला प्रशासनहरु छन् । गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो । अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

प्रतिकृया दिनुहोस्