Thursday, May 26

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !

November 14, 2021 84

नेपाल टेलिभिजनमा गत सोमबार ‘मुन्द्रेको कमेडी क्लब’को अन्तिम भाग प्रसारण भयो। जितु नेपाल ‘मुन्द्रे’ को नेतृत्वमा करिष्मा मानन्धर, उमेश राई (फुलन्देकी आमा), राजेन्द्र नेपाली (लट्टे) आदि कलाकार संलग्न थिए। दर्शकले रुचाए पनि प्रायोजक कि एडभर्टाइजिङ, जितु नेपाल र उमेश राईबीच असमझदारी बढेपछि कार्यक्रम बन्द भएको थियो। गत हप्ता कलाकार जितुले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्नुपर्ने कारणबारे जानकारी दिन प्रेस भेला गरेका थिए।

घोषणा कार्यक्रममा जीतुले कार्यक्रम बन्द गर्नु परेको दोष शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र कि एडभर्टाइजिङलाई दिएका थिए । जीतुको कि एडभर्टाइजिङले आफुलाई थाहा नदिई राईलाई अर्काे कार्यक्रममा लगेर दुबैले धोका दिएको आरोप लगाएका छन् । अब भने‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो ।

करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको थियो । भेलामा उनले उमेश राईले आफूसँग सल्लाह नगरी अर्को टेलिभिजन सोको प्रस्तोता बनेकोमा चित्त दुखाएका थिए। निर्माण कम्पनी ‘कि एडभर्टाइजिङ’ ले यसबारे सल्लाह नगरेकोले कलाकारबीच तालमेल बिग्रेको भन्दै सो बन्द गर्नुपरेको उनको भनाइ थियो। जितुले कमेडी क्लब छोडेपछि अब कमेडी क्लब कसले सञ्चालन गर्ला भन्ने दर्शकमा जिज्ञासा थियो।

धोकाको बिषयमा जीतुले लगाएको आरोप भने राईले खण्डन गर्दै आएका छन् । उनले आफुले जीतुलाई धोका नदिएको र बरु मिलेन जान अग्रह गरेको बताए । अहिले ‘मुन्द्रेको कमेडी क्लब’ को साटोमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउन लागेको बिषयमा समेत राईले आफुलाई आधिकारी जानकारी नभएको बताए ।

एडभर्टाइजिङका प्रबन्ध निर्देशक रवीन्द्र कुमार रिजाल (शशि) ले भने, ‘जितु नेपालजीले छोडेपछि हामी अरु कोही प्रस्तोताको खोजीमा लागिसकेका छौं। छ हप्ताभित्र कमेडी क्लबको नयाँ संस्करण सुरु हुनेछ।’ जितु र करिष्मा नदेखिए पनि कमेडी क्लबमा उमेश राई र राजेन्द्र नेपालीले सोमा निरन्तरता दिने समेत उनले जानकारी दिए। प्रबन्ध निर्देशक रिजालका अनुसार नयाँ सिजनको छायांकन नहुन्जेलसम्म यसअघि प्रसारण भएका भागमध्येबाट फुलन्देकी आमाका विशेष प्रस्तुति ‘फिलर’ का रुपमा प्रसारण गरिने छन्।

प्रतिकृया दिनुहोस्