Monday, September 27

म असफल भएँ, बुबालाई ‘लाइभ शो’ देखाउने सपना पूरा गर्न सकिनँः आदर्श मिश्रा

May 26, 2021 230

काठमाडौँ । ‘मानिसहरुले मलाई ठूलै स्ट्यान्ड अफ कमेडियन’ मान्दा रहेछन् । तर, प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रमको आयोजना गरेर बाबालाई अगाडि राखेर एउटा लाइभ शो देखाउने मन थियो। म यो कुरामा असफल भएँ।’

बुबा विनोद मिश्राको निधन भएपछि कमेडियन आदर्श मिश्राले आफ्नो युटुब च्यानलमा व्यक्त गरेको भनाइ हो। अस्पतालको लापरवाहीका कारण आफ्नो बुबाको डायलसिस पूरा समय हुन नपाउँदा निधन भएको भन्दै आदर्शले बुबालाई बचाउन नसकेको बताएका छन्।

आफ्नै युटुब च्यानलमा एक भिडियोमार्फत आदर्शले भनेका छन्, ‘मेरो बाबाको मृत्युको सम्पूर्ण जिम्मा नेशनल मेकिडल कलेज र नारायणी अस्पतालले लिनुपर्छ।

किनकी, २ महिना अगाडि मात्र मेरो बाबालाई तपाईको डायलसिस यहाँ हुन सक्दैन भनेर नेशनल मेडिकल कलेजले हामीलाई निकालिदियो। सरकारबाट एउटा बिरामीको डायलसिस गरेको ३५ सय लिने अनि बिरामीलाई आवश्यक पर्दा धपाइदिने ? यो कस्तो नियम हो ।’

आदर्शले बुबाको निधन भएपछि आफूले आमालाई झुटो बोलेको समेत बताएका छन्। उनले भनेका छन्,‘बुबा मंगलबार बिहान भरतपुर अस्पतालमा बित्नुभयो। मैले मेरी आमालाई भन्न सकिनँ। आमा अझै पनि डिप्रेसनको औषधी खाइरहनुभएको छ। मैले आमालाई नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरेको छु, बुबालाई लिएर जानुपर्छ भनेर झुटो बोले । अस्पताल लैजाने भनेर मैले बुबाको शवलाई दाहसंकार गर्न लिएर गएँ।’

आदर्शले आफूलाई धेरैले आफ्नो नामबाट बुबा चिनिएको भन्दै यसमा गर्व गर्नुपर्ने बताएपनि बुबाको नामबाट आफू चिनिएको बताएका छन्।

उनले भनेका छन्,‘मलाई मानिसहरु विनोद मिश्राकै छोरा भनेर चिन्छन्। मेरो बुबाले चलाएको स्कुल अहिले विजोग छ । उहाँले मृगौला फेल भएपनि सफलताका साथ स्कुल चलाउनुभएको थियो। केपी ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर। तिमी त भेडाहरुलाई पछाडि हुल लगाएर हिडेका छौं। भारतको विरोध गरेर चुनाव जित्यौं। तिमी राम्रो नेता होइन केपी ओली।’

आदर्शले आफ्ना बाबुको निधनको दोष नेशनल मेडिकल कलेज र नारायणी अस्पताललाई लगाएका छन्। काजकिरिया सकिएपछि आफू त्यसविरुद्ध लड्ने उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्