Monday, September 27

पुरै गाउँ ज्वारोको बिरामी, १० दिनमा १० जनाको मृत्यु,गाउँमा पुरै रुवाबासी

May 11, 2021 983

२७ वैशाख, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका- ५ की २३ वर्षीया महिला टाइफाइडको उपचार गराइरहेकी थिइन् । आइतबार साँझ एक्कासी दम फुल्न शुरु भयो र उनको मृत्यु भयो ।जगरनाथपुर गाउँपालिका वडा नं ५ यो घटना नौलो होइन, वैशाख १७ गतेदेखि २७ गतेसम्म गाउँपालिकामा यसरी ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक मध्ये ८ जना एकै टोलका बासिन्दा हुन् । जगरनाथपुर-५ तिलझप्टी र धर्मपुरमा एक सातामा श्वास प्रश्वासको समस्याकै कारण ८ जनाको मृत्यु स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र प्रसाद साहले जानकारी दिए ।जगरनाथपुर गाउँपालिका- ५ मा वैशाख १७ गते ज्वरो र उल्टीको समस्या भएका ५५ वर्षीय राम बालक ठाकुर अहिरको मृत्यु भयो ।

२१ गते ७५ वर्षीय लक्ष्मी ठाकुर लोहारको मृत्यु भएको थियो । उनमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण थियो ।
त्यसपछि गाउँका मानिसहरुले धमाधम उस्तै खाले समस्या देखिन थाल्यो । कतिपयले वीरगञ्ज गएर कोरोना परीक्षण गराए, धेरैले गराएनन् । २२ गते वडा नं ५ की ६० वर्षीया महिला र ५६ वर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु भयो ।

२५ वर्षीय दिनेश मुखिया विनको मृत्यु भएको थियो । उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण थियो, तर परीक्षण भने भएको थिएन ।

कोरोना संक्रमित ६० वर्षीया महिलाको २३ गते मृत्यु भयो । वैशाख २६ गते सोही वडाकी ७५ वर्षीय श्यामकान्त तिवारीको मृत्यु भयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि उनको परीक्षण भने गरिएको थिएन । सोमबार पनि त्यस्तै समस्या भएका २६ वर्षीया युवती र ६५ वर्षका वासुदेव राउत अहिरको मृत्यु भएको छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र प्रसाद साहका अनुसार वडा नं ५ तिलझप्टी टोलमा ज्वरो विरामी बढेका छन् । गाउँपालिकाले स्वाब संकलनका लागि समेत व्यवस्था गर्न नसकेकोले निरीह भएर बस्नु परेको उनी बताउँछन् । ‘गाउँपालिकामा स्वाब संकलन गर्ने व्यवस्था समेत छैन, एन्टिजेन किट पनि छैन’ साह भन्छन्, ‘स्वास्थ्य चौकीले

रिफर गरेको केही मानिसले मात्रै पीसीआर गराएका छन् । विपन्न समुदायका भएकाले धेरै जना वीरगञ्ज गएर पैसा तिरेर पीसीआर गराउन सक्ने अवस्थामा छैनन् ।’
गाउँपालिका अध्यक्ष जालिम मियाँ पनि श्रीमतीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं गएका छन् ।

स्वास्थ्य शाखा प्रमुख साहले सोमबार जिल्ला स्वास्थ्य कार्यालय, पर्सालाई पत्राचार गर्दै यसबारे जानकारी गराएका छन् । पत्रमा घरैपिच्छे ज्वरोको बिरामी देखिएकाले चिकित्सकको टोली खटाई रोग पत्ता लगाएर उपचार तथा नियन्त्रणका लागि सहयोग गरिदिन आग्रह गरिएको छ ।

समस्याबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर आवश्यक तयारी थालेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए । उनले भने, ‘नारायणी अस्पतालसँग समन्वय गरेर चिकित्सक, ल्याबका प्राविधिकसहित टोली पठाउने तयारीमा छौं । स्वाब संकलन गर्न आवश्यक भीटीएमको जोहो गरिसकेका छौं ।’
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले समस्याबारे बुझेर जानकारी गराउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्