Saturday, April 10

श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्तसहित विवाह

December 6, 2020 170

जीवनमै पहिलोपल्ट अस्पताल पुग्दा श्वेता खड्का सात वर्षकी थिइन्। दसैंको समय थियो। बुवाले किन्दिएको नयाँ लुगा लगाएर उत्साही हुँदै यताउता दौडिरहेकी थिइन्। त्यतिबेलै भर्‍याङमा लडेर हात भाँच्चियो आर्मीमा कार्यरत उनका बुबाले हत्तपत्त उनलाई वीर अस्पताल पुर्‍याए। उपचार सुरु हुन नपाउँदै श्वेता यति डराइन् कि त्यहाँ उनलाई समाउन डाक्टरको ‘महाभारत’ भयो।

दुख्यो… दुख्यो… भन्दै डाक्टरलाई गाली गरेर अस्पताल वरपर भागेकी थिएँ। त्यतिबेला मलाई समाउन उनीहरूलाई खुब गाह्रो परेको थियो,’ श्वेताले आफूलाई याद भएपछि अस्पताल पुग्दाको त्यो पहिलो पल अझै बिर्सिएकी छैनन्। ‘जीवन कसैका लागि बाँच्ने होइन रहेछ, आफ्नै लागि रहेछ। आफू बाँचेपछि नै समाजले पनि हेर्ने रहेछ। त्यसैले म अब मेरो जीन्दगी मेरो चाहना अनुसार जिउँछु। जे मन लागे, त्यही गर्छु।’

पटकपटक अस्पतालमा फरकफरक रोग र परिस्थितिसँग संघर्ष गरेपछि अहिले अभिनेत्री श्वेता खड्कामा जीवनलाई हेर्ने दृष्टिकोण पूरै बदलिएको छ। त्यति मात्र होइन, यसको प्रभाव उनको जीवनचर्यामा देखिन्छ। कुनै बेला नाइट क्लब जान नरुचाउने उनी आज आफूलाई मनपरेका बेला क्लब धाउँछिन्, नाच्छिन्, पिउँछिन्, दिल खोलेर रमाउँछिन्। आफ्नाबारे समाजले के भन्ला, कसरी हेर्ला, त्यसको कुनै मतलब गर्दिनन्।

भन्छिन्, ‘म त्यतिबेला हस्पिटलमा मरेको भए त मरेकोमर्‍यै हुन्थेँ। यो दोस्रोपल्ट पनि होइन, तेस्रोपल्ट पाएको जीवन हो। त्यसै खेर जान त कसरी दिन्छु र म ?’ यो उनमा त्यसै जन्मिएको आत्मबोध कहाँ हो र ! फर्केर हेर्दा उनको अस्पताल जीवन कम पीडादायी छैन। बिहे गरेको दुई दिनमै उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठ अस्पताल भर्ना हुनुपर्‍यो। एक महिनापछि त श्रीकृष्ण अस्पतालबाटै सदाका लागि बिदा भए।

त्यसैले त श्वेता आज भगवान्सँग प्रार्थना गर्छिन्, ‘मान्छेलाई यो अस्पताल भन्ने ठाउँ कहिल्यै जानु नपरोस् , कहिल्यै त्यस्तो परिस्थितिको सिर्जना नहोस्। अस्पतालमा पुग्नुजत्तिको पीडादायी पल अरू केही हुँदैन।’ २०७१ साउन २५ गते। यो दिनलाई श्वेता आफ्नो जिन्दगीकै ‘कालो दिन’ ठान्छिन्। कारण, यही दिन दिल्लीको अस्पतालमा उनले आफूलाई मित्र र अभिभावकजस्तो व्यवहार गर्ने श्रीमान् गुमाइन्। त्यसैले भन्छिन्, ‘म यो दिनलाई सम्झनुभन्दा पनि बिर्सन चाहन्छु।’

कहाँ भेटिएला’को सुटिङ सेटबाट नजिकिएका उनीहरूले श्रीमान् र श्रीमती’ र ‘कोहिनुर’मा जोडी बाँधेर अभिनय गरिसकेका थिए। त्यही साल असार २३ गते उनीहरूको बिहे भएको थियो। बिहेपछि जानुपर्ने त ‘हनिमुन’ थियो तर नियतिले उनीहरूलाई अस्पताल पुर्‍याइदियो। दिल्लीको मनमोहन अस्पतालमा श्रीकृष्ण भर्ना भए।

बिहे भएको दुई दिनमै अस्पताल भर्ना हुनुपरेको खबर श्रीकृष्णलाई बाहिर ल्याउन मन लागेन। फ्यानहरू दुःखी नहोऊन्, उनको चाहना थियो। त्यसैले दुवैले भारतमा हनिमुन’ मनाउन पुगेको हल्ला फैलाए। जुन अस्पतालमा उनको भर्ना भयो, त्यहाँसमेत दुवैले अर्कै नाम लेखाए, अरूलाई थाहा नहोस् भनेर।

दिनसम्म श्रीकृष्णलाई लगातार आइसियूमा राखियो। श्वेताका लागि जीवनमा पहिलोपल्ट अस्पतालमा ‘कुरुवा’ बस्नुपरेको क्षण त्यही थियो। आइसियूमा राखुन्जेल उनी भिजिटरका रूपमा बिहान र बेलुका दुईदुई मिनेटमात्रै श्रीमान्लाई भेट्न पाउँथिन्।आइसियूमा भेट्न नपाउँदा अस्पतालबाहिरै कुरेर बस्थेँ,’ ती दिन सम्झदा आज पनि उनका आँखा रसाउँछन्, ‘मेरो श्रीमान्लाई केही नहोस् भनेर मन्दिर जान्थे, प्रार्थना गर्थें।’ आँसुको त कुनै हिसाबकिताब नै थिएन। कति रुन्थिन्, कति। आइसियूपछि वार्डमा सारियो। फ्रेस हुन, नुहाइधुवाइ गर्नमात्रै श्वेता होटल जान्थिन्।

वरिपरि बिरामीका आफन्त, नर्स, डाक्टरहरू सोध्थे, ‘बिहे गरेको कति भयो ?’ उनी झुट बोल्दिन्थिन्, ‘पाँच वर्ष।’ श्वेताका अनुसार अस्पतालको व्यवस्थापन राम्रो थियो। कुरुवालाई सुत्नका लागि ‘फोल्डिङ मसाज चेयर’ हुन्थ्यो। तैपनि उनका दिन सुतेरभन्दा बढी रोएर बित्थे। गहिरो निद्रा त कहिल्यै लागेन, प्रायजसो होसमै हुन्थिन्। उनलाई देख्नेहरू भन्थे, ‘ये हस्पिटल ऐसा हि जगा है, रोने दो उसको।’

एक दिन अति भयो, उनले दाइसँग फोनमा झगडा गरिन्। दाइलाई भनिन्, ‘कमसेकम उपचार गरेपछि ठिकै नभए पनि कम त हुनुपर्छ नि। यहाँ होला जस्तो देखिएन, सिंगापुर लैजाऔं।’ डाक्टरलाई पनि थर्काइन्, ‘यहाँ हुँदैन भने सिंगापुर लैजान्छौं, डिस्चार्ज गरिदिनुस्।’

सिंगापुर लैजानलाई प्राइभेट एयर एम्बुलेन्ससँग सम्पर्क पनि भयो। त्यहीबेला डाक्टरले श्रीकृष्णको पेट र सिटी स्क्यान गराए। पटक–पटकको आग्रहपछि डाक्टरले श्वेतालाई झर्कंदै सुनाए, ‘उहाँलाई क्यान्सर भएको छ।’ श्वेता एकाएक छाँगाबाट खसेझै भइन्। दिउँसै उनलाई अँध्यारो महसुस भयो। लाग्यो, क्यान्सर उनका श्रीमान्लाई मात्र होइन, आफ्ना सपनाहरूमा पनि लाग्यो।

अस्पताल पु¥याएको २१ दिन र बिहे भएको २३ दिनपछि श्रीमान्लाई क्यान्सर लागेको खबर सुन्नुपर्दा कुन श्रीमतीको मन थामिएला र ? चार घन्टासम्म लगातार रोइरहिन् उनी। डाक्टर, दाइ, दिदी, नर्स सबैले सम्झाए, ‘तिमी रोयौ भने श्रीमान्लाई झन् गाह्रो हुन्छ, त्यसैले तिमी बलियो हुुनुपर्छ।’

भनिन्छ, मान्छेको सास रहुन्जेल आस रहन्छ। श्वेतालाई पनि आशा थियो, मनीषा कोइरालालाई जस्तै श्रीकृष्णको पनि क्यान्सर ठिक हुन सक्छ कि ! त्यसैले उनी अस्पताल जानुअघि सधैं मुख धोएर जान्थिन् ताकि रोएर आफ्ना क्लान्त आँखा श्रीमान्ले महसुस नगरून्। भित्रभित्रै पीडाले पोलिरहेको हुन्थ्यो तर श्रीमान्का अघि खुसी भएको अभिनय गर्थिन्। अभिनय पर्दामा मात्र होइन वास्तविकतामा पनि निर्मम सान्दर्भिक भयो।

क्यान्सर पहिचान भए पनि श्रीमान्ले यति चाँडै आफ्नो साथ छोडेर जालान् भन्ने उनलाई लागेको थिएन। कहिलेकाहीँ सास फेर्न गाह्रो भए पनि उनीहरू मज्जाले टिभी हेर्थे। कपिल शर्मा शो हेरेर खुब हाँस्थे। सल्लाह थियो– मज्जाले निको नभएसम्म दिल्ली नै बस्ने। यसका लागि हाउजिङ पनि हेरिसकेका थिए।

डाक्टरले दुखाइ कम होस् भनेर श्रीकृष्णलाई ‘हाइ डोज’ पेन किलर खुवाउँथे। श्वेताका अनुसार उनलाई एक लाख रुपैयाँसम्मको पेन किलर खुवाइयो। क्यान्सर पहिचान भएपछि आफैंलाई सम्हाल्न नसक्ने स्थितिमा थिइन् श्वेता। लुकीलुकी पेन किलर खान्थिन्। श्रीमान् बाँच्ने अलिकति आशाले मात्रै उनलाई बलियो बनाएको थियो। क्यान्सर पहिचान भएको सात दिनपछि श्रीकृष्णले अस्पतालमै प्राण त्यागे। त्यसपछि उनी आफै कमजोर हुँदै गइन्।

त्यसपछि म बेहोस भएछु। मलाई त नेपाल ल्याइसकिएको रहेछ। होस आउँदा पो थाहा पाएँ,’ त्यो क्षण सम्झँदा उनका आँखामा डम्म आँसु भरिन्छन्, ‘त्यतिबेला डाक्टरले उहाँलाई जे खान दिए पनि हुन्छ भन्नुहुन्थ्यो। आज महसुस हुन्छ, सायद नबाच्ने संकेत देखेर त्यसो भन्नुभएको रहेछ।’ श्रीमान्को मृत्युपछि श्वेताका धेरै दिन रोएरै बिते। उनका लागि त्यो जीवनकै असह्य पीडा थियो। ‘साँच्चै जीवनको यो विन्दुमा कहीँँकतै उज्यालो थिएन,’ विरक्त भावमा उनले भनिन्, ‘तर जीवन हो, आइपरेको स्थितिसँग लड्नैपर्ने रहेछ।’

श्रीमान् बितेको एक महिनापछि उनलाई ग्यास्ट्रिकले सतायो। औषधि खान थलिन्। तीन महिनापछि पनि निको भएन। अस्पताल जाँदा थाहा भयो, उनलाई डिप्रेसन भइसकेको रहेछ। डिप्रेसनको औषधि लिन थालेको केही महिनापछि नै उनलाई ‘ब्याक पेन’ले सतायो। हिँड्नलाई देब्रे खुट्टाले सहारा दिन छाड्यो। श्वेताले आफू नै बिरामी भएर हस्पिटलमा रात बिताउनुपरेको चाहिँ श्रीमान्को मृत्युपछि नै हो। त्यो वियोगको ६ महिनासम्म त उनले घरमै बेडरेस्ट गरिन्।

न कोहीसँग बोल्न मन लाग्ने, न आफन्तलाई राम्रोसँग रेस्पोन्स नै दिने। ढाड दुख्न थालेपछि त बाथ टबमा नुहाउन पनि गाह्रो हुन्थ्यो। भन्छिन्, ‘डिप्रेसनले गर्दा मलाई नै क्यान्सर हुन्छ र मर्छु कि क्या हो जस्तो लाग्थ्यो।’ एकैचोटी ग्यास्ट्रिक, ब्याक पेन, डिप्रेसन लगायत थुप्रै रोगले घेरेपछि अब जीवन सामान्य होला भन्ने उनलाई लाग्न छाडिसकेको थियो।

श्रीमान्ले त बिहे गरेको एक महिनामा पत्याउनै नसक्ने गरी छोडेर जाँदा रहेछन् भने यो जिन्दगीको के भर ? मनमा यस्तै तर्कनाले घर गर्थे।औषधि त कचौरामा राख्दैमा हैरान हुन्थ्यो,’ उनी सम्झन्छिन्, ‘तीन टाइममा आठ–नौ वटा औषधि खानुपथ्र्यो। यस्तो लाग्छ, यो संसारमा मैलेजति औषधि त कसैले खाएकै छैन।’

श्रीमान्को मृत्युपछि उनमा हस्पिटलप्रतिको विश्वास पनि उडिसकेको थियो। त्यसैले पहिलोपल्ट ग्रान्डी हस्पिटल पुर्‍याउँदा उनलाई परिवारले झुक्याएर लगेका थिए। ‘त्यतिबेला सिटीस्क्यान र एमआरआईको फस्ट टाइम टेस्ट लिँदा एकदमै रोएको थिएँ,’ उनी सम्झन्छिन्। पटकपटक ब्लड टेस्ट गरिरहनुपथ्र्यो। कतिपल्ट त हस्पिटल जान नमानेपछि डाक्टरहरू ‘ब्लड स्याम्पल’ लिन घरमै आइपुग्थे। ६ महिनासम्म पनि ठिक नभएपछि उनलाई अस्ट्रेलिया पु¥याइयो। तर त्यहाँबाट फर्केर आउँदा पनि पार लागेन।

अस्ट्रेलियाको औषधिले पनि काम नगरेपछि उनलाई अमेरिका पठाइयो। श्वेताको परिवार पनि त्यतै बस्ने भएकाले हेरचाहमा सजिलो भयो। डिप्रेसनको औषधि खान थालिन्। थेरापी गर्न थालिन्। यसरी चार महिनाको अमेरिका बसाइपछि उनी फेरि सामान्य अवस्थामा फर्किइन्। त्यसपछि उनलाई लाग्यो, ‘अबचाहिँ म बाँच्ने रहेछु।’

यसरी सामान्य स्थितिमा फर्किन उनलाई करिब दुुई वर्ष लागेछ। सानैदेखि व्यवसायमा रुचि राख्ने उनी त्यसपछि आफ्नो कामतिर सक्रिय हुन थालिन्। डिजाइन डेभलेपमेन्ट कम्पनीदेखि कफी शप व्यवसायसम्म उनले लगानी गरेकी छिन्। आफ्नै लगानी र लिड रोलमा ‘कान्छी’ फिल्म पनि निर्माण गरिन्।

‘दादा (श्रीकृष्ण) बित्नुभएपछि म सामान्य अवस्थामा फर्किन्छु भन्ने सोचेको थिइनँ। बाँच्छुजस्तो लागेको थिएन, त्यसैले रिकभर भएपछिको अवस्थालाई मैले मेरो दोस्रो जीवन ठानेँ,’ उनले भनिन्। दोस्रो जीवन पाएपछि पनि श्वेतालाई अस्पतालले बोलाउन भने छाडेन। घाँटीमा टन्सिल भइरहन थाल्यो। उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भइन्। त्यसअघि ग्यास्ट्रिक र ‘फुड पोइजन’ हुँदा पनि उनी त्यहाँ बस्नुपरेको थियो।

मेकअप आर्टिस्टले ‘घाँटीमा डल्लो छ’ भन्न थालेपछि श्वेतालाई हल्का पिरोल्न थाल्यो। दुख्नचाहिँ दुख्दैनथ्यो तैपनि छालाको डाक्टरकहाँ एकपल्ट देखाइन्। डाक्टर पंकज बर्माले भने, ‘ट्युमर हो, तुरुन्तै हटाउनुपर्छ।’

लन्डन या दिल्लीमा गएर हटाउने निर्णय गरिन्। त्यसअघि हेल्लो जिन्दगी’ फिल्मको सुटिङका लागि लन्डन जानुपर्ने थियो। एक महिनापछि उपचार गराउने गरी उनी डाक्टरकै सल्लाहमा लन्डन पुगिन्।
लन्डनमा सुटिङ गरिरहेकै बेला घाँटीमाथि र चिउडो नजिकैका भागमा असाध्यै दुख्न थालेपछि उनले त्यतैबाट डाक्टरलाई फोन गरेर सबै अवस्था सुनाइन्।

डाक्टरले सल्लाह दिए, ‘त्यसो हो भने तत्काल अस्पताल गएर हटाइहाल्नुस्, नत्र इन्फेक्सन हुन सक्छ।’
त्यसपछि उनले लन्डनस्थित सुटिङस्थलबाटै एयर एम्बुलेन्समार्फत सिधै नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा भर्ना भइन्। भारतका चर्चित चिकित्सक डा एसके दवाजले उनको ट्युमरको शल्यक्रिया गरे।

एमएमको ट्युमर रहेछ। डाक्टरले शल्यक्रिया हुनासाथ बधाई दिए, ‘बधाई छ, क्यान्सर भएको छैन, नयाँ जीवनको शुभकामना।’
त्यतिबेला मात्रै श्वेतालाई थाहा भयो– क्यान्सरको सम्भावना पो रहेछ।

खुब रोइन् उनी। सर्जरी गर्दा डेढ घन्टा लाग्छ भनिएको थियो तर अप्रेसन थिएटरबाट निकालिँदा पाँच घन्टा भइसकेछ। ‘म नै अचम्ममा परेको थिएँ, पछि थाहा भयो केस क्रिटिकल रहेछ,’ श्वेताले सुनाइन्, ‘यसरी पटकपटकको बेड संघर्षपछि मैले आज मेरो तेस्रो जीवन जिइरहेकी छु, बिन्दास पारामा।’

ट्युमरको शल्यक्रियापछि श्वेता बिएलके हस्पिटलको बेडमा १२ दिन बस्नुपर्‍यो। त्यहाँको उपचार फाइभस्टार होटलको सेवाजस्तै उनलाई महसुस भएको छ। ‘म एकदमै भिभिआइपी रुममा बसेको थिएँ। फाइभस्टार शैलीको ‘ट्रिट’ थियो,’ भन्दै थिइन्, ‘त्यो ट्रिटमेन्टले मलाई म उपचारभन्दा पनि फाइभस्टार होटलमा बसिरहेजस्तो महसुस गराएको थियो।’

सर्जरी गरिसकेपछि आफ्नै अनुहार देखेर खुब रोएकी थिइन् उनी। किनकि मुख बाङ्गो देखिएको थियो। मान्छेहरूसँग इसाराले ‘कम्युनिकेट’ गर्नुपथ्र्यो। उनी भन्छिन्, ‘खुब आत्मग्लानी हुन्थ्यो। तर परिवारका अघि रुन्नथेँ।’

यद्यपि त्यहाँ दिन कटाउन भने उनलाई त्यति गाह्रो भएन। कारण, सोसल मिडिया राम्रो सारथी भइदियो। कुरुवा बस्ने भाइले पनि हँसाइरह्यो। भेट्न आउने शुभचिन्तकको मायाले पनि ‘बोरिङ’ महसुस गराएन।

तेस्रो जीवन पाएर नेपालस्थित घर फर्किएपछि पनि उनको ‘सेलिब्रेसन पिरियड’ सक्किएको थिएन। अप्रेसन सफल भएको खुसीयालीमा दिनहुँ घरमा केक काटिन थालियो। ‘कहिले बेस्ट फ्रेन्डहरू, कहिले स्टाफहरू केक बोकेर घरमै आइपुग्थे। एक महिनासम्म त दिनहुँ केक काटियो होला,’ यो सुनाइरहँदा श्वेताको मुहारको चमक निकै बढिसकेको थियो।

अझै पनि उनको मुख पूरै सामान्य अवस्थामा फर्किसकेको छैन। झन् शल्यक्रिया हुनेबित्तिकै त बाङ्गो प्रस्टै महसुस हुन्थ्यो। ‘वि विल राइज’ कार्यक्रममा भाषण दिएको भिडियो हेर्दा उनलाई आफै नराम्रो लागेको थियो। ‘त्यसपछि इन्टरभ्यू दिन नै अभोइड गरेँ,’ उनले बाध्यता पोखिन्। गफैगफमा संवाददाताले सोध्यो, ‘तपाईंलाई यो हस्पिटल खुब प्रेम गर्छ है ?’

अब माहोल भावुक पलबाट रमाइलोमा परिणत भइसकेको थियो। त्यसैले श्वेता गम्भीरतामिश्रित मुस्कानसहित बोलिन्, ‘हो नि, मेरो हेल्थमा मात्रै अहिलेसम्म एक करोड रुपैयाँ खर्च भइसक्यो होला। अस्ट्रेलियामा एक महिना बस्दा लाखौं खर्च भयो, अमेरिका र भारतमा त्यस्तै। पैसाको हिसाबकिताब नै छैन। जीवनमा जति कमाएँ, सायद त्योभन्दा बढी मेरो हेल्थमा गुमाएँ। आइ थिंक, दिस इज नट अ जोक।’

क्यान्सरका कारण श्वेताले श्रीमान्मात्रै गुमाइनन्, आफ्नो प्यारो भिनाजु गुमाइन्, थुप्रै नजिकका शुभचिन्तकले छाडेर गए। त्यसैले आज उनी स्वयं क्यान्सर अस्पतालमा लगानी गर्दैछिन्, ताकि अरूले क्यान्सर लागेकै कारण आफ्नो ज्यान गुमाउनु नपरोस्।

जावलाखेलस्थित नेसनल क्यान्सर हस्पिटलमा उनले साझेदारी गरेकी छिन्। त्यही हस्पिटलमा उनका भिनाजुले अन्तिम सास फेरेका हुन्। ‘मैले मेरा आफ्नाहरू क्यान्सरका कारण बिताएँ, अब अरूले गुमाउनु नपरोस्। म त्यस्ता बिरामीलाई सहयोग गर्न सकूँ भनेर हस्पिटलमा लगानी गरेको हुँ,’ श्वेताले सुनाइन्। श्वेताले नेपाल र बाहिर दुवैतिरका अस्पतालमा रात कटाउनुपरेको छ, बिरामी र कुरुवा दुवै बनेर।

बाहिर र यहाँका अस्पतालबीच के भिन्नता महसुस भयो? संवाददाताको प्रश्नमा उनले भनिन्, ‘मैले मेरो भिनाजुलाई लापरबाहीका कारण गुमाउनुपरेको हो। टिचिङ हस्पिटलबाट मैले रिसाएर डिस्चार्ज गरेको हो। टिचिङमा सधैं टिचिङमात्रै भएको देखेँ। मान्छेलाई त्यहाँ मर्फिन दिएर राखेको हुन्छ, जुन लास्ट स्टेजमा दिनुपर्ने हो। अनि, स्टुडेन्ट ल्याएर पढाइरहेको हुन्छ, बिरामी भने दुखाइले रोइरहेको। आफै कल्पना गर्नुस्, योभन्दा खेलाँची दृश्य अरू के हुन सक्छ !’

त्यसैले त्यतिबेला उनले नर्ससँग झगडा गरेर भिनाजुको डिस्चार्ज गराएकी थिइन्। उनको अनुभवमा नेपालका अस्पतालको व्यवस्थापनका समस्या छ, जुन बाहिर उनले महसुस गरिनन्।

श्वेतालाई बितेका पाँच वर्षमा सानादेखि ठूला सबैखाले रोगले सताए। रोगका हिसाबले उनी यो समयलाई आफ्नो जीवनकै दुःखद क्षण ठान्छिन्, तर व्यापारमा सफलता पाएका हिसाबले खुसीको क्षण पनि। ‘कतिपय त भन्न नमिल्ने क्षणहरू पनि मैले भोगेँ जुन म अहिले खुलाउन चाहन्न। कुनै दिन किताब लेखेँ भने पक्कै खुलाउनेछु,’ उनी भन्दै थिइन्।

श्वेताको अनुभवमा अस्पताल भनेको आफ्नो मान्छे चिन्ने ठाउँ पनि हो। भन्छिन्, ‘तपार्इं हस्पिटल पुग्नुस्, अनि आफ्नो को, पराई को थाहा हुन्छ। जब तपाई दुःखमा पर्नुहुन्छ नि, जसले तपाईं गर्छ भन्ने भरोसा लिनुभएको हुन्छ, त्यसले नै केही गर्दैन। जसबाट आशा राखेको हुँदैन, उसले बरु सहयोग गर्छ।’

आफ्नाहरूले साथको अभाव महसुस गरेकै बेला हात झिक्दिने उनको अनुभव छ। ‘म बिरामी नहुँदा दिनहुँजसो क्याफेमा भेट हुने, सँगै खाने, रमाइलो गर्ने साथीहरू म बिरामी भएपछि मुस्किलले महिनामा एकपल्ट भेट्न आउँथे,’ गुनासो पोख्दै उनले भनिन्, ‘त्यसैले म आज रमाइलोमा भन्दा बढी दुःखको क्षणमा सामेल हुन्छु। किनकि मलाई थाहा छ, बिरामी हुँदा, दुःख पर्दा त्यो मान्छेले सबैभन्दा बढी अभाव के महसुस गरिरहेको हुन्छ।’

प्रतिकृया दिनुहोस्