Monday, October 25

अस्पतालको शय्याबाट कोरोना संक्रमितको प्रश्न: पोजिटिभ हुनेले अरु रोगको उपचार नै नपाउने?

May 11, 2021 253

काठमाडौं – देशका विभिन्न अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन्। तर केही अस्पतालहरुले कोरोना संक्रमित भन्ने बित्तिकै गेटबाटै फर्काउने गरेका छन्। सामान्य अवस्था भएका कोरोना संक्रमितले अन्य उपचार पाउन सहज छैन। यो अहिले धेरै बिरामीको साझा समस्या बनेको छ।यस्तो समस्या झेल्ने बिरामीहरुको भीड कम छैन। त्यही भीडमध्येका एक हुन्, जोरपाटीका सुरज भट्टराई। सामान्य पेट दुखाईको उपचारका लागि पनि उनले धेरै दौडधुप गर्नुपर्‍यो।

उनमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको थियो। तर उनको अवस्था सामान्य थियो। उनको मुख्य समस्या भनेको पेटको दुखाई नै थियो। पेट दुखाईको उपचारका लागि उनी काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पुगेका थिए।

अस्पतालमा चिकित्सकले पहिला पिसिआर परीक्षण गरे। रिपोर्ट एक घण्टामै आयो। रिपोर्टले उनलाई कोरोना संक्रमण भएको पुष्टि गर्‍यो। त्यसपछि उनलाई अस्पतालले उपचार गर्न मानेन र घर फर्काए। केएमसीले भर्ना लिन नमानेपछि उनी जोरपाटीस्थित एनएमसी अस्पताल पुगे। तर त्यहाँ पनि उनले सहजै उपचार पाउन सकेनन्।

त्यहाँ उपचार पाउन उनले भागेका समस्या र अवस्था हामीसँग साटेका छन्। उनको अनुभव उनकै शब्दमा:
म सुरज भट्टराई, जोरपाटीमा बस्छु।वैशाख २० गते दिउँसोदेखि मेरो पेट दुखिरहेको थियो। तर म अस्पताल गइन्। पेटको दुखाई सहन नसकेपछि म रातको करिब ९ बजे सिनामंगलस्थित केएमसी अस्पताल गएँ।

त्यहाँ मलाई इमरजेन्सीमा राखियो। डाक्टरहरुले पहिला मेरो पिसिआर परीक्षण गरे। रिपोर्ट एक घण्टामै आयो। रिपोर्टमा कोरोना पोजिटिभ लेखिएको थियो। कोरोना पोजिटिभ आउने बित्तिकै डाक्टरहरुले ‘तपाईंको अक्सिजन लेभल सबै ठिक छ, होम आइसोलेसनमै बस्नुस्, हामी तपाईंलाई भर्ना लिन सक्दैनौं’ भनेर पठाए।मैले उपचार गर्न आग्रह गरेपनि त्यहाँ मेरो उपचार भएन। म घर फर्किएँ। मेरो पेटको दुखाई झन् झन् बढ्दै गयो। त्यो रात मैले कसरी कटाए त्यो मलाई मात्र थाहा छ। म बिहान हुने पखाईमै थिएँ।

त्यसपछि बिहान आठ बजे म उपचारका लागि नेपाल मेडिकल कलेज जोरपाटीमा गएँ। म कोरोना पोजिटिभ भएपनि मेरो पेट दुख्ने समस्या थियो। मलाई पानी खाँदा पनि पेट दुखिरहेको थियो। तर मलाई अस्पतालमा उपचार गर्न मानेनन्। म बाहिर नै बसिरहेँ। पटक पटक आग्रह गर्दापनि उपचार गर्न नमानेपछि मैले एक जना साथी मार्फत वडाध्यक्षलाई फोन गर्न लगाएँ। तीन घण्टापछि एक जना डाक्टर आउनुभयो र मलाई अस्पताल भित्र लगियो। तर भित्र गएर पनि मेरो उपचार भने भएन। गरेनन्।

प्रतिकृया दिनुहोस्