Saturday, April 10

डडेल्धुराकी दुर्गा बज्यैको एसईई पास गर्ने सपना अधुरै

December 9, 2020 190

यो गीत ६० वर्षीय दुर्गा बज्यै अर्थात दुर्गा पाण्डेले गुनगुनाउने गीत हो। कक्षा ४ मा अध्ययनरत उनलाई उनका सहपाठीहरुले ‘दुर्गा बज्यै’ भनेर बोलाउँथे। १० वर्षको उमेरमा बिहे गरेर घरबार सुरु गरेकी उनले पढ्न पाएकी थिइनन्। त्यसैले उनको शिक्षित बन्ने धोको थियो। आफ्नो धोको पुरा गर्न उनी ४ वर्ष अघि डडेल्धुराको अमरगढी नगरपालिका–५ मा रहेको महेन्द्र मावि (तत्कालिन भृकुटी प्राथमिक विद्यालय) मा भर्ना भएकी थिइन्।

भर्नापछि उनी आफ्ना नाति नातिनी उमेरका केटाकेटीसँगै झोला बोकेर विद्यालय जान्थिन्। उनलाई उनका सहपाठीले बज्यै भनेर सम्बोधन गर्थे र उनी पनि नाति नातिनी भनेर सम्बोधन फर्काउँथिन।

पढाइ पनि राम्रै भइरहेको थियो। उनले निकै चाख दिएर पढाइमा ध्यान दिने गरेको उनका शिक्षक/शिक्षिकाहरु बताउँछन्। कक्षाकोठाको पछाडि बस्ने उनी सबै विषयमा उत्कृष्ट भएको उनकी शिक्षिका पार्वती गुरुङ बताउँछिन्।

‘उहाँ एकदमै राम्रो विद्यार्थी हुनुहन्थ्यो। भनेको मान्ने, खेलकुदमा पनि राम्रै। एकदिन हामीले तपाई यति बुढी हुनुभयो किन सकी नसकी विद्यालय आउनुहुन्छ, आराम गर्नुस् भन्दा उहाँ(दुर्गा)ले म धेरै पढ्ने हुँ। १० कक्षासम्म पढने हुँ भन्नुहुन्थ्यो।’
दुर्गा बज्यै पढाइमा निकै मेहनत गर्थिन्। आफूलाई एसईई परीक्षा पास गर्ने इच्छा रहेको र भगवानले साथ दिएसम्म पढ्ने उनको अठोट थियो। तर उनको त्यो अठोट अब पूरा हुन सक्दैन। उनको सपना अधुरै रहेको छ।

सोमबार उनको कोरोना भाइरसका कारण लाग्ले रोग कोभिड-१९ ले ज्यान लिएको छ। उनले भने जस्तै भगवानले साथ नदिँदा उनी कक्षा १० सम्म पुग्न पाइनन्। मृत्युपछि मंगलबार सेती घाटमा उनको अन्तेष्टि भइसकेको छ।

‘म अलिकति शिक्षित भएर जाउँला। यो संसार छाडे पनि मेरो शिक्षा मसँगै रहला भनेर विद्यालय भर्ना भएकी हुँ,’ उनका आफन्तका अनुसार उनी मृत्यु अघि सबैलाई यसै भन्ने गर्थिन्। सानै उमेरदेखि पढ्ने इच्छा भए पनि पढ्न नपाएकोले बुढेसकालमा आफ्नो इच्छा पूरा गर्न विद्यालय भर्ना भएको उनका ज्वाइँ कृष्ण भट्टले बताए।

यस्तो छ उनको विगत
दुर्गाले बिहे गरेको केही वर्षपछि श्रीमानलाई छाडेकी थिइन। र, घरबार त्यागेर माइतमा बसेकी उनले ८ वर्षको उमेरमा बुबा र १२ वर्षको उमेरमा आमालाई गुमाइन्।

श्रीमानलाई छोडेर गएपछि ६/७ महिनाकी छोरीलाई काखमा राखेर उनी माइत गइन्। त्यसबेला खान लाउन पनि राम्ररी पुग्दैनथ्यो।

माइतीघरमा बस्दा अरुको मेलापात गरेर छोरीलाई हुर्काइन्। काकाकाकीले बस्नका लागि घर दिएका थिए। त्यही घरमा बसेर बाख्रा, कुखुरा, गाई र भैंसी पालेर जीवन चलाइन्। श्रीमानलाई छोडेपछि घरबाट केही सम्पत्ति लिइनन्।
दुर्गा पाण्डेले निकै मेहनतका साथ छोरीलाई अनमीसम्म पढाएकी थिइन। र, छोरीको बिहे गरेकी थिइन्।

त्यसपछि दुर्गा बज्यै छोरीसँगै बस्दै आएकी थिइन्। एक दिनको कुरा हो आँखा जाँच गर्न कैलालीमा रहेको गेटा अस्पताल जाँदा उनले एक जना केटालाई टिकट देखाएर ‘कति नम्बर कोठामा जाने हो’ भनेर सोधेकी थिइन्। तर, ती भाइले पनि नजानेपछि उनलाई आफूपनि शिक्षित भएको भए हुनेथियो जस्तो लागेको थियो।

त्यसैले उनी एउटा सपना बोकेर विद्यालय भर्ना भएकी थिइन। उनका छोरीज्वाइँ दुवै जागिरे भएका हुँदा उनलाई केही समस्या थिएन। तर छोरीज्वाइँको जागीर कैलालीमा भएको हुँदा दुर्गा एक्लै डडेल्धुरा सदरमुकाममा बस्नुपर्ने बाध्यता थियो।

विश्वमा कोरोना भाइरसको महामारी आइसकेपछि विद्यालय बन्द भएका थिए। उनको पढाइ पनि रोकिएको थियो। लकडाउनपछि विद्यालय त सुरु भए तर उनी अध्ययन गर्न नआएको महेन्द्र माविका शिक्षक किशोर बम बताउँछन्।

उनले भने, ‘उहाँ भर्ना त हुनुभएको थियो तर विद्यालयमा उपस्थित हुनु भएन, सायद कोरोनाका कारण होला।’

केही दिनदेखि बिसन्चो भएको जानकारी पाएका उनका छोरीज्वाइँले सिधै मृत्यु भएको खबर पाएका थिए। सोमबार साझ दुर्गाको घरमै मृत्यु भएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरी भट्टले बताए।

‘घरमै मृत्युपछि उनको कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको थियो। मंगलबार साँझ नै शवको नेपाली सेनाद्वारा सेती घाटमा अन्तेष्टि भइसकेको छ’ उनले भने।

प्रतिकृया दिनुहोस्