Monday, September 27

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने यस्तो छ अन्तिम तयारी

June 1, 2021 255

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् ।

पछिल्लो समय संक्रमण दर घटिरहेकाले जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। ‘पछिल्लो समयको अवस्था हेर्दा निषेधाज्ञा केही खुकुलो पार्ने हो कि भन्ने लागेको छ। त्यसका लागि आज छलफल हुँदैछ। स्वास्थ्य मन्त्रालयका अधिकारीसँग पनि आवश्यक परामर्श लिएर निर्णय गर्छौं,’ उनले भने।

कतिपय विज्ञले समेत संक्रमण दर घटेकाले असारबाट निषेधाज्ञा खुकुलो पार्न सकिने सुझाएका छन्। निषेधाज्ञालाई लम्बाइराख्दा सर्वसाधारणको दैनिक जीवनयापन कठिन हुने भन्दै संक्रमणलाई नियन्त्रण गर्दै निषेधाज्ञालाई समेत खुकुलो पार्दै लानुपर्ने उनीहरूको राय छ।

यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी थप निर्णय लिने बताए । कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ । तर कतिपयले परीक्षण नै कम भएकाले संक्रमितको संख्या पनि कम भएको बताउने गरेका छन् ।

यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिँदैछ। उक्त निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो। त्योभन्दा अगाडि निषेधाज्ञा भए पनि खाद्यान्न पसललाई समेत बिहान ९ बजेसम्म खोल्न दिइएको थियो। तर खाद्यान्न पसल खोल्दा झन् भिडभाड भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो।

प्रतिकृया दिनुहोस्