करोना संक्रमणको कारण पूर्ब बैंकर निरज श्रेष्ठको निधन भएको छ। केहि समय अघि कोराना संक्रमण देखिएको उनको बुधबार बिहान ११ बजे अस्पतालमा निधन भएको हो।
श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। त्यसपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत नियुक्त भएको भएपनि बोर्डमा वि’वाद भएपछि उनले त्यहाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेनन्।
तात्कालीन ग्रीनलेज बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका उनले ग्लोबल आइएमई बैंक र एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए। उनले एक दिन अघि मात्र बुवालाइ पनि काेभिडकै कारण गुमाएका थिए । श्रेष्ठका श्रीमती र एक छोरी छन् । हाल दिल्लीमा रहेका श्रीमती र छोरी निधनको खबर लगत्तै आजै काठमाडौं आइपुग्ने बताइएको छ ।
इमान्दार र कुशल बैंकरको छवी बनाएका श्रेष्ठको निधनले बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुगेको बैंकरहरुले बताएका छन् । माछापुच्छ्रे बैंकका पूर्व सीईओ तथा अहिलेका सनराइज बैंकका सीईओ सुमन शर्माले श्रेष्ठको निधनले बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुग्ने बताए ।
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकिङ क्षेत्रले एउटा अव्वल बैंकर गुमाएको बताए । ‘वहाँ रियलमा मृदुभाषी एकदमै प्रोफेशनल बैंकर हो’ अध्यक्ष दाहाले भने, ‘कसैलाई नबिझाउने, आफ्नो काममा ध्यान दिने स्वभावको हुनुहुन्थ्यो, वहाँको निधनले वास्तवमै बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ ।’
प्रतिकृया दिनुहोस्