Tuesday, June 15

विवेकशील साझाका नेता उज्वल थापाको निधन

June 1, 2021 81

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । आज दिउसो मात्र भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा बताउन नमिल्ने जनाएको थियो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले पुष्टी गरेका हुन्।

नेपालमा कुनै ठूला राजनीतिक दलका नेता बिरामी पर्ने वित्तिकै जनतामा आ’क्रोश पैदा हुन्छ। कारण नेता बिरामी भएपछि राज्यकोषको दुरुपयोग हुन्छ भनेर। तर विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य उपचारको लागि जनता आफैले स्वःस्फूर्तरुपमा सहयोग गरे।

आफूलाई राजनीतिक अभियानकर्मी बताउने थापाको अध्यक्षतामा सन् २०१३ मा विवेकशील नेपाली पार्टी स्थापना भएको थियो। उनले सन् २०१९ को अक्टोबर महिनामा उक्त जिम्मेवारी छाडेका थिए। करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आए पनि उज्ज्वल प्रमुख राजनीतिक पार्टीमा आबद्ध लोकप्रिय नेता होइनन्। उनी राजनीतिमा संलग्न त छन्, तर उनको उपस्थिति प्रत्यक्ष देखिने गरी बनिसकेको छैन। उनको पार्टीले पहिले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिँदा पनि खासै सफलता पाउन सकेन।

चवालीस वर्षीय थापा देशका अरू राजनीतिज्ञका भिडमा एक खालको ‘अपवाद’ भएको त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागकी उपप्राध्यापक नीति अर्याल खनाल बताउँछिन्। उनले भनिन्, “विभिन्न किसिमका सङ्घर्ष गरेर आएका र जनताले विश्वास गरेका नेताहरू विभिन्न किसिमका राजनीतिक खिचातानी र भ्रष्टाचारमा संलग्न हुँदा जनताले उहाँहरूलाई हेर्ने दृष्टिकोण एकदम नकारात्मक भएर गएको छ।”

“उज्ज्वल थापाहरूको ‘नेपाल खुल्लै छ’ भन्ने अभियानले राजनीतिक कारणले आयोजना गरिने बन्दका कारण उत्पन्न निराशाको वातावरणविरुद्ध आवाज उठायो। त्यस्तै महिला हिंसाविरुद्ध बालुवाटारमा अघि बढाइएको अभियानमा पनि उहाँहरू सक्रिय भएर लाग्नुभयो र युवाहरूलाई परिचालन गरेर वैकल्पिक राजनीतिक धार स्थापना गर्न उहाँहरू सक्रिय हुनुभयो।”

त्यसबाट सहरी मध्यमवर्गको ध्यान तान्न सफल भएको र पछिल्लो समय जुटेको सहयोगले थापालाई प्राप्त समर्थन देखाउन उनले बताइन्। “युवापुस्ता परिवर्तनको भोका छन् र उनीहरू उज्ज्वलजस्ता नेताहरूले केही गर्न सक्छन् र उहाँहरू जस्ता व्यक्तिहरू निको भएर छिटो समाजसेवामा फर्किनुभयो भने हाम्रो लागि सम्भावना छ भन्ने ठान्छन् भन्ने देखाएको छ। यो एकदमै अर्थपूर्ण छ।” प्रविधि उद्यमी हुँदै राजनीतिमा प्रवेश गरेका थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्।

पुराना राजनीतिक दलहरूका तौरतरिकाबाट वाक्क भएर उनले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरेका थिए। उनी विवेकशील नेपाली दललाई एउटा यस्तो मञ्च बनाउन चाहन्थे, जहाँ उभिएर युवा पुस्ताले मूलधारको राजनीतिप्रति आफ्नो मनमा गुम्सेका असन्तुष्टि पोख्न सकून्। राजनीतिक प्रणालीमा देखिएका कमी–कमजोरी कसरी सच्याउने भन्नेबारे चर्चा–परिचर्चा गर्न सकून्। वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्न सकून्।

धेरै युवा पुस्तामा राजनीति भनेको फोहोरी दलदल हो र यसमा ओर्लिनु फोहोरमा लतपतिनु हो भन्ने धारणा छ। ती युवा पुस्तालाई राजनीतिको फोहोर सफा गरेर मात्र सुसंस्कृत पद्धति निर्माण गर्न सकिन्छ भन्ने उज्ज्वलले सन्देश दिएका छन्।

थापाको व्यक्तित्व पनि सरल र शालिन छ। कुनै तामझाम छैन। उनी सार्वजनिक रूपमा धेरै देखिँदैन थिए, तर धेरैका मनमा बसेका थिए। अहिले उनको पक्षमा उर्लिएको सद्भावले त्यही झल्काएको छ। उनी राजनीतिमा छन्, तर राजनीतिक महत्वाकांक्षा उनमा छैन। राजनीति बदल्ने हुटहुटी र दृढता भने छ। बिपी कोइरालाले भनेजस्तो उनमा ‘ठूलो मान्छे होइन, असल मान्छे हुने’ ध्येय देखिन्छ।

‘नेपाली राजनीतिमा एउटा वैकल्पिक स्पेस हुनुपर्छ भन्ने उज्ज्वल थापाको सुरूदेखिकै मनसाय हो। उहाँको यही धारणाबाट प्रभावित भएर म र अरू धेरै साथीहरू यो पार्टीसँग जोडिएका हौं। हामी भर्खर भर्खर पार्टीमा आबद्ध हुँदा पनि उहाँले हामीलाई एउटा साधारण सदस्यका रूपमा कहिल्यै हेर्नुभएन। हामी सबै युवा पंक्ति मिलेर नै पार्टी मजबुत हुन्छ र कुनै न कुनै दिन यो पार्टी बलियो वैकल्पिक शक्तिमा रूपान्तरण हुन्छ भन्ने उहाँको विश्वास थियो,’ पाण्डेले भने।

उनले यो पनि भने, ‘उहाँको यो सोचले धेरैको मन छुन सफल भएको रहेछ। अहिलेको राजनीतिबाट असन्तुष्ट र यसमा करेक्सन हुनुपर्छ भनी धारणा राख्ने व्यक्तिहरू प्रत्यक्ष–अप्रत्यक्ष उहाँसँग जोडिएका रहेछन्। उहाँलाई व्यक्तिगत रूपमा नचिने पनि उहाँको विचार र व्यक्तित्वबाट प्रभावित रहेछन्।’

प्रतिकृया दिनुहोस्