Wednesday, October 20

‘नेपाल हाम्रो घर हो डेरा हैन’ भन्दै नेतालाई खबरदारी गर्ने उज्वल सधैका लागि अस्ताए, अमेरिका बाट फर्केर सुरु गरेका थिए राजनीति

June 1, 2021 295

बीबीसी नेपाली – विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको परिवारले जनाएको छ। नेपालमा परिवर्तन ल्याउनका लागि वैकल्पिक राजनीतिक दल र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा कोरोनाभाइरस सङ्क्रमित भएर काठमाण्डूको मेडिसिटी अस्पतालमा उपचाररत थिए।

“विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबीच रहनु भएन,” थापाको परिवार र शुभेच्छुकको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

अन्तिम पटको कोरोनाभाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको बताउँदै परिवारले थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ: “युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ।”

कहिल्यै लाभको पदमा नपुगेका उनी बिरामी हुँदादेखि मृत्युपश्चात् समेत नेपालीहरूले देखाएको सम्मान र सद्भावले थापा एक जना लोकप्रिय नेताको रूपमा दरिन पुगेका छन्। कोरोनाभाइरस सङ्क्रमित भएर गम्भीर अवस्थामा अस्पताल भर्ना भएपछि उनका लागि देश र विदेशमा रहेका नेपालीले उठाएको ठूलो राशिको सहयोग पनि उनको लोकप्रियता मापनको एउटा गतिलो उदाहरण बनेको छ।धेरैका भनाइमा थापा यति धेरै लोकप्रिय हुनुमा उनको फरक धारको राजनीतिका साथसाथै नेपालका परम्परागत दल र नेताहरूको ‘सत्ता केन्द्रित’, राजनीतिसमेत जिम्मेवार छ।

विशेष गरी शिक्षित, सहरी, सूचना प्रविधिमा अभ्यस्त र युवा वर्गमा लोकप्रिय भए पनि न थापा न त उनको दलले नै हालसम्म ठूलो चुनावी सफलता पाउन सकेको छ। यद्यपि उनको मृत्युपछि र मृत्युअघि बिरामी अवस्थामा पनि थापाप्रति देखिएको सद्भावले नेपालीहरू राजनीतिमा ‘देश र जनताका लागि काम गर्ने’ एउटा ‘नायक’को खोजीमा छन् भन्ने देखाएको छ। नेपालको चर्चित बोर्डिङ स्कूल बुढानीलकण्ठबाट कक्षा १२ (ओ लेभल) सम्म अध्ययन गरेका थापा त्यसपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका गएका थिए।

तर उनी खगोल तथा भौतिकशास्त्री होइन त्यो पढाइ छाडेर वेब डिजाइनर बनेर नेपाल फर्किए।उनी आफैँले लेखे अनुसार अमेरिकामै रहँदा उनी भौतिक दुनियाँबाट बिरक्तिएर बौद्ध भिक्षु बन्नसमेत तम्सिएका थिए।तर ‘नियतिको खेला अर्कै थियो’ उनी बौद्ध भिक्षुको साटो नेपालका एक जना चर्चित युवा नेता बन्न पुगे।२१ वर्षे उमेरमा बौद्ध भिक्षु बन्ने सोच बनाएका उनले त्यसपछिको जीवनमा ‘भिक्षुकै जस्तो सादा जीवन बाँचेको’ थापा आफैँले बताउने गरेका थिए।उनलाई नजिकबाट चिन्नेहरू पनि त्यसमा समर्थन जनाउँछन्।

वेब डिजाइनर बनेर नेपाल फर्किएका थापाले यहाँ आएपछि उद्यमशीलता र समाजसेवा दुवैमा हात हाले। सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चालेका उनले कफी खेतीमा समेत लगानी गरेका थिए।द्वन्द्व रूपान्तरणबारे प्रशिक्षित भएर त्यस विषयमा जनचेतना फैलाउने अभियानबाट उनले सामाजिक कार्यको थालनी गरे।थापासहित विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूको सक्रियतामा ‘नेपालका लागि उद्योगी’ नामक अभियानको सुरुवात भएको थियो।त्यसमा सयौँ नेपाली युवा उद्यमीहरू आबद्ध भए र त्यो युवा उद्यमीका लागि एउटा छलफल र सहकार्यको माध्यम बन्न पुग्यो।

नेपाल फर्किएका केही वर्षसम्म थापा युवा उद्यमशीलता प्रवर्द्धनमै सक्रिय भएका थिए। स्वदेश फर्किएर थापा उद्यमशीलता र समाजसेवामा सक्रिय भएका बेला नेपालमा राजनीतिक अस्थिरता चरम उत्कर्षमा थियो।प्रथम संविधानसभा गठन भए पनि संविधान बन्न सकेको थिएन। कहिले यो समूह त कहिले त्यो समूहले हरेक दिनजस्तो बन्द र हडताल गर्ने गर्थे। त्यसले आजित भएका केही युवासँग मिलेर थापाले २०६५ सालमा सामाजिक सञ्जालमा ‘बन्द विरुद्ध अभियान’का लागि एउटा समूह बनाए। उक्त अभियानमा आबद्ध युवाहरू नेपाल बन्द घोषणा भएका दिन “नेपाल खुला छ” भन्ने ब्यानर बोकेर सवारीसाधन चलाएर हिँड्ने गर्थे।

राजधानी काठमाण्डूको माइतीघर मण्डलमा उनीहरू बन्दका दिन पनि प्लेकार्ड बोकेर उभिन्थे। सामाजिक सञ्चालनमा उनीहरूको अभियानको चर्चा निकै हुन थाल्यो। त्यसको एक वर्ष जति पछि थापाकै सक्रियतामा युवाहरूले ‘परिवर्तनका लागि हामी नेपाली एक’ अभियान सुरु गरे।

संविधानसभा गठन भएको लामो समय भइसक्दा पनि संविधान बन्न नसकेको अवस्था थियो त्यो। उनीहरूले सामाजिक सञ्जालदेखि सडकसम्म ‘ज्याला पूरा लियौँ, अब संविधान देऊ’ भन्ने नारा लगाए। तर त्यस्ता अभियानले मात्र समाजमा परिवर्तन ल्याउन सम्भव नदेखेपछि आफूहरूले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने सोच थापाले बनाए।

सायद, त्यही आत्मबोधले हुनुपर्छ उनले विसं २०६९ विवेकशील नेपाली भन्ने समूह बनाए। तर त्यसले दलको रूप भने लिएको थिएन। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपालीले काठमाण्डूका चार क्षेत्रबाट स्वतन्त्र रूपमा आफ्ना उम्मेदवारहरू उठाएको थियो।

त्यस बेला थापा क्षेत्र नम्बर-५ बाट उम्मेदवार बनेका थिए। तर उनले एकदमै थोरै मत ल्याएका थिए। दोस्रो संविधानसभाको निर्वाचनपछि भने २०७१ सालमा थापाकै नेतृत्वमा विवेकशील नेपाली दल गठन भयो। उक्त दलले २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिँदा विशेष गरी काठमाण्डू महानगरपालिकामा युवा रञ्जु दर्शनालाई मेयरको प्रतिस्पर्धी बनाएपछि निकै चर्चा पायो।

तर स्थानीय चुनावमा खासै सफलता नपाएपछि वैकल्पिक राजनीतिकै लागि भनेर स्थापना भएको अर्को दल साझा पार्टी र विवेकशील एक भए। सामूहिक नेतृत्वको अवधारणमा अपनाएको उक्त दलमा थापा सह-संयोजक बनेका थिए।

उक्त विवेकशील साझा दलले २०७४ सालको आम निर्वाचनमा भाग लियो तर चुनावी सफलता खासै पाउन सकेन। विवेकशील साझा दल एक भएको १६ महिनापछि आन्तरिक विवादका कारण फुट्न पुग्यो र थापा पुनः विवेकशील दलको नेता बन्न पुगे। तर दुई कार्यकाल नेतृत्व गरेपछि उनले सहज रूपमा मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरे। त्यसपछि फेरि गत मङ्सिरमा विवेकशील र साझा दल एक भएर पुनः विवेकशील साझा दल गठन भएको छ। थापा भने त्यसयता खासै राजनीतिमा कमै सक्रिय देखिएका थिए।

युवा नेता थापालाई नजिकबाट चिन्नेहरू उनले नेपालमा ‘सुसंस्कृत र उदाहरणीय’ राजनीति गरेर गएको ठान्छन्। त्यस्तैमध्ये एक रिपब्लिका दैनिक तथा माई रिपब्लिकाका प्रधान सम्पादक सुभाष घिमिरेका भनाइमा उनी ‘परिवर्तनकारी व्यक्तित्व’ थिए।

उनी भन्छन्, “म अमेरिकामा हुँदा पनि हामीजस्तो पढेको, बुझेको मान्छे स्वदेश फर्केर परिवर्तनका लागि काम गर्नुपर्छ भन्नुहुन्थ्यो।” उनी थापाले दुई कार्यकाल आफू पार्टीकै नेतृत्वमा रहेर त्यसपछि जसरी सहज रूपमा नेतृत्व हस्तान्तरण गरे त्यसलाई नेपालको राजनीतिमा निकै ‘सुसंस्कृत’ मान्नुपर्ने बताउँछन्।

उनकै पार्टीका कतिपय नेताहरूका भनाइमा थापाले नेपालमा अहिंसात्मक रूपमा परिवर्तनका लागि मुद्दाहरू उठाउन र त्यसलाई स्थापित गर्न सकिन्छ भन्ने छाप छाड्न सफल भएका छन्। त्यस्तै राजनीतिलाई नै पेसा बनाउने परम्परागत सोचविरुद्ध उनको अभियान नेपालीका लागि नौलो भएको कतिपय उनी निकटहरूको भनाइ छ।

उद्यमशीलता नभइ देश विकास नहुने र पढेलेखेका देशविदेश देखेका युवाले नै परिवर्तन गर्न सक्छन् भन्नेमा उनी दृढ विश्वासी रहेको उनका गतिविधिले देखाउने गरेका थिए।
यद्यपि आलोचकहरूले थापालाई सहरिया उच्च र मध्यम वर्गका मुद्दा उठाउने खाले राजनीति गरेको र सैद्धान्तिक रूपमा प्रस्ट नभएको भन्ने गरेका छन्।

विवेकशील नेपाली दल गठन गर्दादेखि अहिले विवेकशील साझा बन्दासम्म उक्त दल सैद्धान्तिक रूपमा स्पष्ट नरहेको भन्नेहरू निकै छन्। तर घिमिरे पढेलेखेका, विदेश बसेका र अवसर पाएका व्यक्तिहरू फर्किएर राजनीतिमा आएकाले थापाले थालेको राजनीतिलाई सहर, उच्च र मध्यम वर्गीय खालको भन्ने आरोप लागेको ठान्छन्।

आलोचकका नजरमा उज्ज्वल सैद्धान्तिक रूपमा स्पष्ट होउन् वा नहोउन् तर उनले नेपालको राजनीतिमा वर्षौँदेखि जमेर रहेका विसङ्गतिमाथि सानै भए पनि प्रहार गरेका थिए। र त्यसले जमेको ठूलो पोखरीमा फालिएको सानो गिट्टीको डल्लोझैँ नेपाली राजनीतिमा तरङ्ग पक्कै ल्याइदिएको छ। तर त्यो तरङ्गलाई अझै फैलाउन नपाउँदै थापा ४४ वर्षको अल्पायुमै संसारबाट बिदा भए।

प्रतिकृया दिनुहोस्