कोरोनाविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

December 19, 2020 171

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन्।

जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उनले बताए।
विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनको भनाइ थियो।

कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दाबन्दी र राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको, नागरिकको स्वास्थ्य उपचारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्दै उनले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट गरे।

“हामी नागरिकको जीवन र जीविका रक्षाका लागि संवेदनशील छौँ”, उनले भने, “कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने भएका छौँ, यसका लागि स्रोत व्यवस्थापन भइसकेको छ।”

खोप जतिसक्दो छिटो नेपाल ल्याउन आयातमा सफल भएका तथा अध्ययन गरिरहेका मुलुकसँग कूटनीतिक रूपमा छलफल भइरहेको उनको भनाइ थियो। आजको गोरखापत्र दैनिकमा खबर छ।

प्रतिकृया दिनुहोस्