भोलि भाइटिका यस्तो छ साइत र पुजनविधी

November 15, 2020 272

काठमाडौँ । तिहारको पाँचौं दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिन भाइटीका पर्छ । भाइटीका पर्व दिदीभाइको पवित्र प्रेमको प्रतीक हो ।

यो दिन दिदीबहिनीको घरमा गएर भोजन गर्दा दाजुभाइको उमेर बढ्ने मान्यता छ । त्यस्तै दाजुभाइलाई भोजन गराएर दिदीबहिनीले पनि सुखसमृद्धि पाउने मान्यता पनि छ ।

धर्मग्रन्थहरूका अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्नो घरमा दाजु यमराजलाई बोलाएर सत्कारपूर्वक भोजन गराउनुभएको हो । त्यसैले पनि आजको दिनलाई यमद्वितीया भन्ने चलन छ ।

यमुनाको सत्कारबाट प्रसन्न भएका यमराजले यस्तो वर दिएका थिए स् आजको दिन यमुनामा स्नान गरेर यमराजको पूजन गर्ने मानिसले यमलोक देख्नुपर्दैन ।

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

पूजनविधि
शुरूमा दीप, कलश र गणेशको स्थापना गर्नुपर्छ । त्यसपछि दिदीभाइ मिलेर यमराज, चित्रगुप्त, यमुना र यमदूतहरूको पूजा गरेर अर्घ्य दिनुपर्छ । अनि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ ।यो मन्त्र पढ्दै यमराजको प्रार्थना गर्नुस् स्

धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज
पाहि मां किंकरैः सार्द्धं सूर्यपुत्र नमोकस्तुते

त्यसपछि दाजुभाइलाई बीच आसनमा राखेर दूबोले तेलको घेरा बनाएर तीनचोटि घुम्नुपर्छ । अनि ढोकाको छेउमा लगेर ओखर फोर्नुपर्छ ।

दाजुभाइलाई सप्तरंगी टीका लगाउनुपर्छ । टीका लगाएपछि उपहार दिनुपर्छ । किस्तीमा सजाइएका ओखर, कटुस, दही लगायतका वस्तु खुवाउनुपर्छ । अनि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र वस्त्र उपहार दिनुपर्छ ।

त्यसपछि विसर्जन गर्दै पूजा टुंग्यानुपर्छ ।

यसको लामो विधि पनि छ । यहाँ भने संक्षिप्त विधि मात्र दिइएको हो ।

भाइटीकामा मृत्युदेव यमराज र यमुना अनि दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई पूजा गर्ने प्रचलन छ । तल लेखिएका मन्त्र पढेर पूजा गर्नुहोस् ।

यमराज प्रार्थना
ऊँ त्वमेव वैवस्वत विश्वमूर्तिस्त्वमेव कालः कलनान्तरात्मा
त्वमेव मृत्युः पुरुषस्त्वमेव प्रसीद देवेश नमो नमस्ते

प्रतिकृया दिनुहोस्