Friday, April 16

चुनावको लागि आवश्यक सुरक्षाको तयारीमा प्रहरी जुट्यो , अब म्यादी भर्ना छिट्टै खोल्ने

December 22, 2020 148

छोटो समय र सुरक्षा चुनौतीका बाबजुत पनि नेपाल प्रहरीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई भयरहित र व्यवस्थित गराउन तयारी थालेको छ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटन गरिएपछिको नियमित सुरक्षा र घोषित चुनावको मितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावको लागि आवश्यक पर्ने सुरक्षासहित पूर्व तयारीको काम शुरू गरिसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए ।

‘सरकारले घोषणा गरेको चुनावलाई मध्यनजर गर्दै आवश्यक पर्ने सुरक्षा सहितको पूर्व तयारी थालिसकेका छौं,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘भइरहेका चुनौतीलाई व्यावसायिक रूपमा ट्याकल गरी समाधान गर्ने र सामान्यीकरण गर्नेतर्फ काम कारवाही भइराखेका छन् ।’ राजनीतिक गतिरोधपछि देशमा देखिएका विरोधका कार्यक्रम र गतिविधिको रोकथामको लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रहरी परिचालन भएर नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, समाधान गर्ने र व्यवस्थापन गर्ने काम गरिने एसएसपी कुँवरले बताए ।

सरकारले घोषणा गरेको चुनाव सम्पन्न गर्न सबै काम छिटोछिटो गर्नुपर्ने भएकाले छिट्टै म्यादी प्रहरीको भर्ना खोल्ने लगायत कामका लागि ‘वर्क आउट’ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । चुनावलाई लागि आवश्यक पर्ने सबै प्रकारका बन्दोबस्तीका कामहरू गर्न प्रहरीले आवश्यक योजना निर्माण गर्न थालेको छ ।
‘छोटो समयमा हुन लागेको चुनावका लागि आवश्यक पर्ने बन्दोबस्ती, म्यादी प्रहरी भर्ना लगायतका काममा हामीले वर्कआउट गरिराखेका छौं,’ प्रवक्ता कुँवरले भने, ‘चुनाव व्यवस्थित रूपमा, भयरहित वातावरणमा, निष्पक्ष रूपमा गराउनका लागि नेपाल प्रहरी तयारी अवस्थामा छ ।

प्रतिकृया दिनुहोस्