Saturday, September 25

अस्ट्रेलियासँग नेपालका दस खेलाडीहरुको शानदार प्रदर्शन, ३-० ले पराजित

June 12, 2021 245

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो । कुवेतको जाबेर अल-अहमद रंगशालामा छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।

खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।

आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियाविरुद्ध नेपालले १० जनामा सीमित भएर पनि पछिल्लो ४५ मिनेट राम्रो डिफेन्सिभ खेल प्रस्तुत गर्‍यो । अस्ट्रेलियाले गरेको लगातार प्रहारमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले धेरै गोल बचाएका थिए । नेपालका लागि पहिलो पटक टोलीमा समावेश भएका आयुष घलान, सुरज जेउ ठकुरी र कमल थापाले डेब्यु गरे ।

यस हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो ।

प्रतिकृया दिनुहोस्