Wednesday, May 5

झापाको बिर्तामोडकी यी महिला जसले ठगिन् एक करोड !

November 17, 2020 1047

पाको बिर्तामोड नगरपालिका वडा नं. ३ शान्ति टोलका सबै महिलाहरूले एक जना महिलालाई यतिखेर घुइघुइती खोजी गरिरहेका छन् । उनीहरूले एक करोडभन्दा बढी रकम ठगेर फरार भएकी ती महिलाको खोजी गरिरहेका हुन् ।

टोल बस्तीभरिका दर्जनौँ महिलाहरूलाई ठगेर रातारात फरार भएकी ती महिलालाई खोजी गरी रकम असुल गरिदिन प्रहरी चौकी बिर्ताबजार , इलाका प्रहरी कार्यालय बिर्तामोड , जिल्ला प्रहरी कार्यालयदेखि बिर्तामोडको ३ नं वडा कार्यालय , बिर्तामोड नगरपालिकासम्म उनीहरू गुहार लगाउन पुगेका छन् । सामाजिक सञ्जालमा पनि उनीहरूले घटना सार्वजनिक गरेका छन् । तर, अहिलेसम्म ती महिला भेटिएकी छैनन् । यसरी करोडभन्दा बढी रकम ठगी गरी फरार हुने ३८ वर्षिया चन्द्रकला वाग्ले अधिकारी हुन् । उनले टोलभरिका महिलाहरूलाई ठगेकी हुन् । खासगरी श्रीमानहरु विदेश गएका महिलाहरूलाई चन्द्रकलाले ठगेको पाइएको छ ।

आफ्नो घरजग्गा बिक्री गरी उनी गत असोज २८ गते राति सपरिवारसहित फरार भएकी हुन् । पाँचथर हिलिहाङ गाउँपालिकाको भालु चोक माइत भएकी चन्द्रकला २०६३ सालमा भवानी अधिकारीसँग बिहे गरेपछि बिर्तामोड ३ को शान्ति टोलमा बस्दै आएकी थिइन् । कोहीसँग सापटी , कोहीसँग व्याजमा गरी उनले धेरै जनासँग रकम लिएकी थिइन् । त्यस्तै सुनको गहना लगाउन मागेकी चन्द्रकलाले कतिपयको गहना फिर्ता दिएकी छैनन् भने कतिपयको धितो राखेकी छन् ।

परिवारका सदस्यहरूलाई थाहा नदिनु भन्दै गोप्य रुपमा महिलाहरूबाट रकम लिएकी उनले महिला समूहको रकमसमेत लिएर फरार भएको पीडित इन्दिरा तिम्सिनाले बताइन् । जग्गा बेचेर दिने भन्दै आफ्नो १ लाख ७० हजार रुपैयाँ लिएकी उनले टोलका महिलाले समूह खोलेर भेला गरेको साढे ५ लाख रुपैयाँ समेत ठगेको इन्दिराले बताइन् । उनले ठगी गरेको महिलाहरूको सूची लामो छ । चन्द्रकलाले देवी राईको १४ लाख २० हजार, कुलकुमारी राईको ४ लाख ६० हजार ,

गोमा ढुङ्गानाको १ लाख २६ हजार, विमला थापाको २ लाख ५० हजार, रमा बस्नेतको १ लाख ३५ हजार, राममाया तामाङको १ लाख ७० हजार, सबिना बस्नेतको २ लाख, विष्णु प्रसाईँको ८ लाख र साढे ५ तोला सुन, मञ्जु खड्काको सुन, सुकमाया राईको १ लाख, रञ्जना मगरको १ लाख ७० हजार, मञ्जु पौडेल घिमिरेको २ लाख ४० हजार, रनमायाको १ तोला सुन, इन्दिरा तिम्सिनाको १ लाख ७० हजारलगायत रहेको छ ।

ठगिने सबै महिला हुन् । त्यसबाहेक उनले अझै धेरै जनालाई ठगी गरेकी छन् । बिर्तामोड ३ शान्ति टोलमा उनको ९ धुर जग्गा र टिनको छानो भएको घर रहेको थियो । सोही घरजग्गा देखाउँदै उनले धेरै जनालाई ठगेको पीडितहरूले बताएका छन् । एउटै जग्गा धेरै जनासँग बैना गरेर ठगेको पनि पाइएको छ । उनले मिना सिटौलासँग पनि २० लाख रुपैयाँ लिएकी थिइन् । तर, सो रकम जग्गा बेचेर उनले मिलाएको जनाइएको छ ।

जग्गा सुटुक्क बेचेर उनी पर्सी पल्ट राति फरार भएको स्थानीय जानुका थापा मगरले बताइन् । चन्द्रकलाले ठगी गरेको विषयमा महिलाहरूले आफूकहाँ उजुरी दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । उनले ती महिलाको खोजी भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्