Thursday, December 2

एक पत्रकार जसले आफ्नै घरखेत डुबेको स्थलगत रिपोर्टिङ गरे

June 18, 2021 245

१ असार राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा इन्द्रावती र मेलम्ची नदीको बाढी पस्यो । बजार पसेसँगै नदीले आफ्नो रौद्र रूप देखायो । ७ जनाको मृ’त्यु नै भयो । ६० भन्दा धेरै घर डुबानमा परे । सयौं रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राजधानी काठमाडौंबाट धेरै पत्रकारहरू बाढी प्रभावित क्षेत्रको रिपोर्टिङ गर्न मेलम्ची पुगे ।

बाढीले अस्तव्यस्त बनाएको मेलम्ची बजारमा पुगेर रिपोर्टिङ गर्नेमध्येका एक हुन्, जगन्नाथ दुलाल । न्युज २४ टेलिभिजनका पत्रकार क्यामेरा अगाडि उभिएर बोल्न थाले, ‘यो बजार, सडक बालुवा र पानीले भरिएको छ । दर्शकवृन्द यहाँको अवस्था अहिले भयावह छ । सधैँ भिडभाड हुने यो बजार एकाएक बगर भएको छ ।’

यसो भनिरहँदा उनी मेलम्ची बजारको पुछारमा रहेको आफ्नो घर सम्झिरहेका थिए । उनी सुनाउँछन्, ‘म रिपाेर्ट बनाइरहेको थिएँ । मेरो ध्यान भने घर के भयो भन्नेमै थियो ।’

मेलम्ची बजार पुगेलगत्तै उनी आफ्नो घर गएनन् । घरको अवस्था नहेरिकनै रिपोर्टिङमा खटिए । बाढी आएकै राति उनले आफ्नो सात रोपनी खेत डुबाएको थाहा पाइसकेका थिए । घर डुबानमा परेको चाहिँ यकिन भएको थिएन ।

मेलम्चीकै बासीन्दा दुलाल आफ्नै र नातेदारको घरखेत डुबाएको रिपोर्ट बनाउन खटिए । मेलम्चीका अधिकांश बाढी पीडित उनकै आफन्त, परिवारजन र छिमेकी थिए ।

बुम माइक र क्यामरा लिएर उनी जसै बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी विद्यालयमा पुगे, त्यहाँ उनले आफन्त नै आफन्त देखे । परिवारका सदस्य देखे । छिमेकी भेटे । ‘बाढी पीडित आफन्त वा चिनजानका मात्रै देख्दा आफैलाई सम्हाल्न गाह्रो भयो,’ दुलालले अनुभव साटे ।

विद्यालयको आँगनमा बाढी पीडितहरू भातका लागि थाल थापिरहेका थिए । अधिकांश बाढीपीडितले १ असार साँझको छाक खान पाएका थिएनन् । विद्यालयको कोठामा बाढी पीडित भरिएका थिए ।

मेलम्ची बजारको अवस्थाले भन्दा विद्यालयको आँगन र कोठामा सुस्केरा काढिरहेका आफन्तको विचल्ली देखेपछि दुलाल एकछिन त के गर्ने, कसो गर्ने भनेर रनभुल्लमा परे । टिम शिलापत्रले संवाद गरेकी बाढीपीडित नन्दाकुमारी श्रेष्ठ रुन थालेपछि दुलालले आफ्नो माइक हटाए, क्यामेरा बन्द गरे । रिपोर्टिङ सकिएपछि दुलालले सुनाए, ‘छिमेकी र आफन्तको आँसु खिच्नै सकिन । उनीहरूको आँसु देख्दा मेरो आँखा पनि टिलपिल भए र केहीछिन काम गर्न छोडिदिएँ ।’

बाढीले विद्युत लाइन काटिँदा टेलिफोन सम्पर्कमा समस्या भइरहेको थियो । जसले गर्दा क-कसको घर डुब्यो भनेर यकिन खबर आइरहेको थिएन । सम्पर्कविहीन भएका उनका अधिकांश आफन्त बाढीपीडित राखिएका स्थानमा भेटिए । ती आफन्त उनलाई देखेर झन् भक्कानिए ।

मेलम्ची पुगेर बाढीपीडित आफन्त नभेट्दासम्म उनलाई आफ्नो घर पनि बाढीले डुबाएको थाहा थिएन । रिपोर्टिङका क्रममा दुलाललाई आफन्त र छिमेकीले खबर गरे, ‘बाबु तिम्रो पनि घर डुब्यो नि !’

देश दुनियाँलाई खबर देखाउन हिँडेका उनी आफ्नै घरको खबर भने अरुबाट लिइरहेका थिए । मेलम्ची बजारमा उनी जति जनासँग कुरा गर्थे तिनले पहिला आफ्नो पीडाभन्दा दुलालको पनि घर खेत डुबेको सुनाउँथे । ‘बारम्बार आफन्तहरूले मेरो पनि घर डुबेको सुनाउँदा छटपटी भइसकेको थियो,’ दुलालले सुनाए, ‘डुबेकै भए पनि आफ्नो घर हेर्न आतुर भइसकेको थिएँ ।’ तर, उनको रिपोर्ट अझै पूरा भइसकेको थिएन ।

गाउँमा कोरोना कहर बढ्दै गएपछि दुलालले १५ जेठमा मात्र बुबाआमालाई काठमाडौं आफूसँगै ल्याएका थिए । उनको घरको हेरचाह काकाले गर्थे ।

टिम शिलापत्रले मेलम्ची बजारबाट एक सय मिटरवरै सडक किनारमा ग्याँस सिलिण्डर र ओढ्ने ओच्छ्याउने पोको पारेर भेटेका केदार दुलाल पनि पत्रकार जगन्नाथका काका रहेछन् ।

२०७२ को भूकम्पमा पनि उनले आफ्नो भत्किएको घर र घा’इते भएकी आमाको वास्ता नगरीकनै रिपोर्टिङ गरेका थिए । ‘त्यतिखेर म कारोबार दैनिकमा काम गर्थे,’ उनी सम्झिन्छन्, ‘त्यही भूकम्पमा घर भत्केपछि अहिले नयाँ घर बनाएका थियौं ।’ साढे दुई तलाको घरमा केही महिनाअघि मात्रै रङरोगन गरेका थिए, दुलालले ।

विपद्को समयमा पत्रकारिता नै सही सूचनाको माध्यम हो भन्ने बुझेका दुलालले रिपोर्टिङ गरिरहँदा बाढीपीडित आफन्त, परिवार र छिमेकीसँग टेलिभिजनका लागि संवाद गरिरहँदा दुलालले आफूलाई कमजोर हुन दिएनन् ।

‘ग्राउण्ड जिरोको यथार्थ देखाउनुपर्ने म नै कमजोर भए मेरो पेसामाथि नै अन्याय हुन्छ भनेर मैले आफ्ना सबै पीडा लुकाएँ,’ दुलालले भने । रिपोर्टिङ सकेर उनी आफ्नो घर हेर्न गए । घरसम्म पुग्न सकिने अवस्था थिएन । उनले टाढैबाट खेत बगरमा परिणत भएको देखे । घरको माथिल्लो तलाको पिलर पानीमाथि उभिएको देखे ।

‘आफ्नै घर खेतको यो हाल देखेपछि बल्ल मैले महसुस गरेँ, मान्छेहरू किन बरर्र आँशु खसालेर रोएका रहेछन्,’ दुलालले सुनाए । जलसमाधिमा लिन भएजस्तो देखिने आफ्नो घर उनले धेरैबेर हेर्न सकेनन् । ‘घर भनेको ढुंगा, माटो, इटा र सिमेन्टको संरचना मात्र होइन रहेछ,’ दुलाल सुनाउँछन्, ‘त्यहाँ त जीवनका स्मृति मात्र पनि होइन जीवन नै जोडिएका हुँदा रहेछन् ।’

आफ्ना स्मृति, अनुभूति र परिश्रमले खडा गरेको घर इन्द्रावतीमा लिन भएको हेर्न नसकेर उनी फरक्क फर्किए । झरीसँगै मिसिए उनका आँशु । १ असार यता इन्द्रावतीमा उर्लिएको भेलमा दुलालजस्तै धेरैका आँशु पनि मिसिएका छन् । परिश्रम, पसिना, अनुभूति, स्मृति अविरल बगिरहेको इन्द्रावतीसँगै कतै दूर पुगेका छन् ।

आफन्त, परिवारजन र छिमेकीको विचल्ली भएको रिपोर्टिङ सकेर काठमाडौं फर्किँदै गर्दा दुलालले भने, ‘अब त मेलम्चीमा मेरो केही छैन । मेलम्ची जाने मेरो बाटो नै बन्द भयो, घरखेत केही छैन । के भनेर मेलम्ची जाने ?’

काठमाडौं उपत्यका छिर्ने नाका साँगा भञ्ज्याङ पार गरेसँगै उनले फेरि अर्को प्रश्न थपे, ‘अब बुवाआमालाई के भनेर सम्झाउने यार मैले ?’ हामी नाजवाफ भयौ । उनी टोलाइरहे ।

दुलालले मेलम्ची बजार पुगेर आफ्नै गाउँघर, डुबेको टेलिभिजनमा रिपोर्ट बजाए ।

यति मात्र होइन, उनी आफू स्वयं पनि विचल्लीमा परेको समाचार लिएर काठमाडौं आइपुगे । संगीत श्रोताको गीत ‘चरि लैजा समाचार हामी भयौं बेघरबार’को भाकामा । शिलापत्रबाट

प्रतिकृया दिनुहोस्