Thursday, May 6

फाइजरको कोरोना भ्याक्सिन लगाएपछि स्वास्थ्यकर्मी महिलाको मृत्यु

January 5, 2021 187

काठमाडौं। फाइजरको कोरोनाभाइरस भ्याक्सिन लगाएको २ दिनमै एक महिलाको मृत्यु भएको छ । ४१ वर्षकी ती महिला स्वास्थ्यकर्मी थिइन् । डेलीमेलका अनुसार फाइजरको भ्याक्सिन लगाएको करिब ४८ घण्टापछि नयाँ वर्षको दिन ४१ वर्षकी सोनिया एकेभेडोको मृत्यु भएको हो । पोर्चुगलको पोर्तो शहरकी सोनियालाई भ्याक्सिन लगाएपछि कुनै खराब साइड इफेक्ट भने देखिएको थिएन । दुई सन्तानकी आमा सोनिया पोर्तोको पोर्चुगिज इन्स्टिच्युट अफ ओंकोलोजीमा काम गर्थिन् ।

सोनियाका पिता अबिलियो एकेभेडोका अनुसार उनी पूरै ठिक थिइन् । उनलाई कुनै पनि प्रकारको स्वास्थ्य समस्या थिएन । उनले भने ‘सोनियामा कोरोनाका लक्षण पनि थिएनन् । मलाई थाहा छैन कि के भयो । तर मलाई जवाफ चाहिन्छ । मलाई जान्नु छ के कारणले मेरी छोरीको मृत्यु भयो ।’ पोर्चुगलको अस्पतालले पनि ३० डिसेम्बरमा सोनियालाई भ्याक्सिन लगाइएको पुष्टि गरेको छ । भ्याक्सिन लगाएपछि सोनियाको तर्फबाट अस्पताललाई कुनै पनि किसिमको साइड इफेक्टको जानकारी दिइएको थिएन ।

भ्याक्सिन लगाएपछि सोनियाले फेसबुकमा फोटो पोस्ट गरेकी थिइन् र कोभिड १९ को भ्याक्सिनेसन भएको लेखेकी थिइन् सोनियाका पिताका अनुसार उनलाई १ जनवरीका दिन बिहान ११ बजे फोन गरेर उनकी छोरी मृत पाइएको जानकारी दिइएको थियो । पिताले अघिल्लो दिन बेलुकी छोरीसँग न्यू इयर इभ मनाएको बताएका छन् । सोनियाकी छोरीका अनुसार उनलाई आमाले भ्याक्सिन लगाएको ठाउँमा सामान्य दुखाइ भएको बताएकी थिइन् ।

पोर्चुगलमा सोनियासँगै करिब ५३८ स्वास्थ्यकर्मीलाई फाइजरको भ्याक्सिन दिइएको थियो । भ्याक्सिन लगाएपछि मृत्यु भएको यो घटनाबारे स्वास्थ्य मन्त्रालयलाई पनि सूचित गरिएको छ । पोर्चुगलको जनसंख्या करिब १ करोड ५ । यहाँ कोरोना संक्रमणका केस ४ लाख २७ हजारभन्दा धेरै भइसकेका छन् । ७ हजार ११८ जनाको कोरोनाभाइरसबाट मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्