Sunday, September 26

शान्ति सेनामा योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल

June 18, 2021 133

काठमाडौँ– नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा पर्न सफल भएको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लव पौडेलले राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको जानकारी दिए ।

शान्ति मिशनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो राष्ट्र हो । दोस्रोमा इथियोपिया, तेस्रोमा नेपाल र चौंथोमा रुवान्डा र पाँचौंमा भारत छन् ।

यसअघि नेपाल छैटौं स्थानमा रहेको थियो । शान्ति सेना योगदान गर्ने मुलुकको सूचीमा पहिलोमा वंगलादेश, दोस्रोमा इथियोपिया, त्यसपछि नेपाल, चौथोमा रुवान्डा, पाँचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।

सेनाका अनुसार असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । हालसम्म १४ मिसनमा काम गरिरहेको छ । सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।

सैनिक प्रवक्ता पौडेलका अनुसार विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अन्य मुलुकको विश्वास हो । नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको छ । यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ।

प्रतिकृया दिनुहोस्