Sunday, April 11

इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको तस्विर सामाजिक संजालमा भाइरल

January 5, 2021 340

काठमाडौं : साउन २ गते। दिनभर निजामती किताब खानामा बित्यो उनको समय। सामाजिक सञ्जाल नचलाउने भएकाले घर फर्किएर परिवारसँग समय बिताउँदै थिइन्। अचानक कार्यालयका सहकर्मीले फोन गरे। केही आत्तिए सरह जानकारी दिए, ‘तपाईंहरूको फोटो फेसबुक/ट्वीटरमा भाइरल भएको छ। हेर्नुस् त।’

ट्वीटरमा उनको खाता छैन। फेसबुक पनि बन्द गरेकी थिइन्। परिवारमै कसैको फेसबुक लग-इन गरिन्। त्यसपछि उनलाई छाँगाबाट खसेजस्तै भयो।

प्रसङ्ग उही ‘सरकारी मोटरसाइकलको दुरुपयोग’वाला तस्विरको। तस्विरमा एक पुरुषले सरकारी नम्बर प्लेट भएको मोटरसाइकल हाँकेका छन्। पछिल्लो सिटमा महिला छिन्। ती महिलाले जिन्सको पाइन्ट र टिसर्ट लगाएकी छिन्। टिसर्टको केही भाग खुला देखिन्छ जसका कारण उनको ढाड देखिएको छ।

सहकर्मीसँग कार्यालयको मोटरसाइकल पछाडि बसेको फोटोमाथि अनेक टिका टिप्पणी भइरहेको थियो। त्यसमाथि उनले लगाएको लुगाको आलोचना र उनको ‘चरित्र’ र ‘मर्यादा’माथि प्रश्न पनि

‘मैले हेर्दासम्म फोटो भाइरल भइसकेको थियो। सम्हाल्न सक्ने अवस्था थिएन,’ उनले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, ‘पब्लिक जे देख्यो त्यसैको पछि लाग्छन्। कथाको फरक पाटो बुझ्न खोज्दैन। त्यसैले मौन रहनुको विकल्प थिएन। तर, तनाव चाहिँ धेरै नै हुँदो रहेछ।’

भएको के थियो ?

मोटरसाइकलमा सवार पुरुष र महिला एउटै गाउँपालिकामा कार्यरत इञ्जिनियर र सब इन्जिनियर हुन्। गत फागुनदेखि सेवामा खटिएका उनीहरू सरकारी कर्मचारीलाई दिइने संकेत नम्बर लिन काठमाडौं आएका थिए। कार्यरत् गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसँग बिदा मागेर।

बिहीवार आएका उनीहरूले सोही दिन आधा काम फत्ते पारे।

महिलाको परिवार काठमाडौं उपत्यकामै बस्छ। शुक्रवार अर्थात् तस्विर खिचिएको दिन भने महिलाको प्रशासकीय कामका लागि कतै जाने योजना थिएन। उनी घरबाट पारिवारिक भेटघाटका लागि निस्किइन्। तर, आफूसँगै आएका सहकर्मी लगायत अन्यले उनलाई फोन गरेर बबरमहलस्थित निजामती किताबखाना बोलाए, सिट रोलमा ‘सही’ गर्नका लागि।

लकडाउनका कारण सार्वजनिक सवारी साधन चलेका छैनन्। निजी सवारी साधन नभएकाले उनले आफूसँगै आएका सहकर्मीलाई लिन बोलाइन्। उनी आए। बबरमहल जाने क्रममा कसैले उनीहरुको तस्विर खिचेको हो।

‘कसले खिच्यो थाहा छैन। जसले गर्‍यो गलत गर्‍यो। तस्विरसँग सम्बन्धितहरूलाई कस्तो असर पर्छ भन्‍ने कुरामा ध्यान दिएन,’ ती महिलाले भनिन्।

उनले फोटो खिच्नेसँगै पोस्ट गर्नेबारे पनि भनिन्, ‘मनोसामाजिक असर गहिरो हुन्छ नि। सामाजिक सञ्जालमा भाइरल भएको विषय एक पटकलाई साम्य होला तर, लामो समयसम्म सञ्जालमै रहन्छ। पटक पटक छाउँछ। आलोचना हुन्छ। सबै सहनु पर्छ। सधैं सहनु पर्छ।’

महिलाको लुगा, सामाजिक सञ्जाल र ‘मर्यादा’को कक्षा

सामाजिक संजालमा उक्त तस्विरलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै गए। तस्विर तब भाइरल बन्यो जब फेसबुक/ट्वीटरमा हजारौं फलोअर्स भएका पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुक टाइमलाइनबाट त्यो सेयर गरे।

तस्विर सेयर र रिपोस्ट गर्नेहरू ‘मर्यादित पोशाक’ लगाउन सिकाउने, सरकारी सवारी साधनको पछाडि को बस्न पाउने? को नपाउने? भन्ने बारे ‘ज्ञान’ दिन सक्रिय रहे।

तस्विरलाई मिम बनाउनदेखि ट्रोल पेजहरूले प्रयोग गरे। मोटरसाइकलमा सवार पात्रहरूलाई हाँसोको पात्र बनाइयो।

केही मानिसले भने प्रश्न गरे – पोशाकको मर्यादा सिकाउनेहरूले अरुको फोटो चाहिं अनुमति बिना खिच्न पाउँछन्? सामाजिक सञ्जालमा राख्न पाउँछन्?

प्रवीण रिजाल नाम गरेक ट्वीटर प्रयोगकर्ताले प्रश्न गरेका छन् – ‘होइन यो मोटरसाइकल काण्डमा सरकारी साधनको दुरुपयोग भएकोमा आपत्ती हो कि पछाडि बसेकी नारीको पहिरनमा आपत्ती हो? सबैभन्दा पहिले यो नै क्लियर हुन आवश्यक देखियो।’

त्यस्तै स्मीता पौडेलले लेखेकी छिन् : म सोच्दैछु, त्यही सरकारी मोटरसाइकलमा कोही सारी र ठ्याक्कै यस्तै ढाड देखिने ब्लाउज लगाएर यात्रा गरिरहेको थियो भने यो तस्विर यस्तै भाईरल हुन्थ्यो? यो समाजले क्या सजिलै महिलाको ‘मर्यादा’लाई परिभाषित गरिदिन्छ!

ती महिलाले सरकारी कार्यालय छिर्दा भने आफूले पोशाकको विषयमा पूर्ण ध्यान दिएको बताइन्। आफूले किताबखाना छिर्नुअघि ज्याकेट लगाएको उनको भनाइ छ। ‘कार्यालयको पोशाक मर्यादाबारे कर्मचारीलाई थाहा हुँदैन त?’, उनले प्रश्न गरिन्।

त्यसदिन उनी दिनभर कार्यालयमै रहिन्। समयमा काम नसकिएकाले उनको पारिवारिक भेटघाटको योजना स्थगित भयो।

‘आकस्मिक काम पर्‍यो। लकडाउनका कारण कपडा फेर्न घर फर्कने अवस्था थिएन। सहकर्मीसँग कार्यालय गएँ। आफूसँग भएको ज्याकेट लगाएर छिरें। अब मैले स्पष्टिकरण दिनुको अर्थ छैन,’ उनी केही निराश सुनिइन्।

उनको पोशाककै कारण सरकारी सवारी साधनको दुरुपयोग भएको आरोप लाग्यो। कथा नबुझी सरकारी मोटरसाइकलमा युवती ‘घुमाएको’ व्याख्या गर्नेको जमात नै ओर्लियो सामाजिक संजालदेखि चिया पसलसम्म।

सोही दिन फेसबुकका नेपाली पुरुष प्रयोगकर्ताहरूको समूह (एमआरआर)मा एउटा पोस्ट गरियो। जसमा सुवोध बुढाथोकीले केही मेसेजको स्क्रिन सटसहित पोस्ट लेखेका छन् : हामीले भाइरल तस्विरको पीडित पक्षबाट केही सन्देश पाएका छौं। कृपया अब उक्त तस्विर ग्रुपमा पोस्ट नगर्नु होला। कसैले गरेको
पोस्‍टसँगै राखिएको मेसेजमा लेखिएको थियो : ‘त्यस फोटोमा देखिएकी युवती मेरी बहिनी हो। उसलाई डिप्रेसन हुन लागिसक्यो।’

त्‍यतिन्जेल उपाध्यायसहित धेरैले आफ्नो टाइमलाइनबाट उक्त तस्विर हटाइसकेका थिए। तर, रिपोस्ट गर्ने र स्क्रिनसट सेयर गर्ने क्रम रोकिएन।

ती पोस्टहरू घुमिफिरी टाइमलाइनमा आउँदा महिलालाई अत्यास लाग्यो। ‘सामाजिक सञ्जालमा अनेक खालका मानिस हुन्छन्। कसलाई सम्झाउनु? कसरी सम्झाउनु? त्यसमाथि कार्यालयबाट फोन आइरहेको थियो। तनावमाथि तनाव। मैले त फेसबुक हेर्नै छाडिदिएँ,’ उनले भनिन्।

सामाजिक सञ्जालमा साम्य हुँदै गरेको विषय मिडियाले उचाल्दा…

सामाजिक सञ्जाल हेर्न छाडेपछि ती महिला मानसिक रुपमा केही राहत महसुस भएको बताउँछिन्। केही दिनमा सामाजिक सञ्जाल प्रयोगकर्ताले छलफल र टिका टिप्पणीका लागि नयाँ विषय पाए। सरकारी मोटरसाइकल र युवतीको लुगाको विषय केही साम्य भयो।

तर, केही अनलाइन मिडियाले विषयलाई पुन: उचाले। समाचार लेखे :

‘फेसबुक ट्वीटर चलाउने त फोटोमा जति देखे त्यतिबारे चर्चा गरे। तर, मिडियाले त निकै अप्ठ्यारो स्थिति सिर्जना गरिदियो। गोपनीयता भन्ने कुरा नै रहेन। समाचारहरू छापिए लगत्तै फोन आएर हैरान छ। कति जनाको प्रश्नबाट भाग्नु?,’ उनले प्रश्न गरिन्।

सामाजिक सञ्जालमा सीमित तनाव अब भर्चुअल दुनियाँ बाहिर पनि भोग्नु पर्ने उनको कथन छ।

घटनाका कारण युवतीलाई काममा फर्कन अप्ठ्यारो स्थिति सिर्जना भएको छ। उनी लगातार आएका फोन, प्रश्न, जिज्ञासा र दिनुपर्ने स्पष्टिकरणका कारण पनि तनावमा छिन्। परिवारले उनलाई साथ दिएका छन्। सामाजिक सञ्जाल र समाचार नपढ्दा उनलाई पनि केही राहत महसुस भएको छ।

‘तर मैले लगाएको लुगालाई निकै ठूलो इस्यू बनाइयो। कति खेर कहाँ के चर्चा भयो वा आफ्नोबारे थप अफवाह फैलाइयो कि? भनेर हेर्न मन लागिहाल्छ,’ उनले भनिन्।

आफूलाई नचिनेरै, घटनाबारे विस्तृत केही थाहा नभएरै पनि आफ्नो पक्षमा लेख्ने र बोल्नेहरूलाई देख्दा भने खुशी छिन्। जसकारण हरेक विषयको सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छ भन्ने बुझेको बताउँछिन् उनी।

भन्छिन्, ‘बाँकी त इग्नोर गर्नुको उपाय छैन। जे भयो गलत भयो। गलत कुराको सधैं पछि लागेर सकिँदैन नि।’

लकडाउनका कारण असारदेखि काममा फर्किएकी उनी एक साता लामो बिदा लिएर काठमाडौं आएकी हुन्। घटनाले आफूलाई फरक अनुभव दिलाएको सुनाउँछिन्। भन्छिन्, ‘के केसम्म भोग्नु पर्दो रहेछ भन्ने थाहा भयो। अनुभव हो। अझै बलियो बन्न मद्दत गरेको छ।’

प्रतिकृया दिनुहोस्