Friday, April 23

‘ममीलाई धेरै वर्ष बचाउन उपचारमा लगेको थिएँ, तर बाघबाट बचाउन सकिनँ’

January 6, 2021 258

कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्। तर घर फर्किनै नपाइ उनीमाथि बाघले झम्टियो।

केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई सुगर (चिनी रोग) थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

नेपालगञ्ज आएर छातिको सिटी स्क्यान गरे। डाक्टरलाई देखाए। उपचार सकिँदा दिन ढल्किसकेको थियो। नेपालगञ्जबाट हिँड्दा बेलुकाको ६ बजिसकेको थियो ।

पुसको जाडो मोटरसाईकलको यात्रा। तै राजमार्गमा आफ्नै गतिमा नहिँडे उल्टै पछाडिको गाडीले ठोक्लान् भन्ने त्रास उत्तिकै हुन्छ। सन्तोषले सुदूरपश्चिम प्रदेश १००८ प ६८०१ नम्बरको मोटरसाइकल हाँकिरहेका थिए। पछाडि उनकी आमा नन्दकली बसेकी थिइन्।

करिब साढे ३ घन्टा लामो यात्रापछि उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरे। जंगली जनावरको सुरक्षाका लागि निकुञ्ज भित्र चालकका लागि निश्चित गति निर्धारण गरिएको हुन्छ।

निकुञ्जको निर्देशन अनुसार सन्तोषले पनि मोटरसाईकलको गति घटाए। ‘मेरो मोटरसाईकलको गति त्यस्तै ३०–३५ सम्म थियो होला,’ सन्तोषले सेतोपाटीसँग भने।

उनीहरू अम्रेनी चेकपोष्ट भन्दा ५/६ किलोमिटर अगाडि पुगेका थिए। सडकको उत्तरतर्फ अगाडि करिब १० देखि १५ मिटरको दुरीमा एक्कासी बाघ देखापर्‍यो। उनले मोटरसाईकल अझै स्लो गरे। ‘मोटरसाईकल फर्काएर भाग्न मिल्ने ठाउँ नै थिएन। अगाडि यति ठूलो बाघ थियो के गर्ने गर्ने भयो,’ उनले भने, ‘त्यहीँ बिचमा बाघ जंगलतिर गयो। मौका छोपेर गाडीको स्पिड बढाएर भाग्न खोजेको तर बाघले हामीलाई झुक्याएको रहेछ।’

त्यहीँ बेला बाघले एक्कासी उनीहरूको मोटरसाइकलमा झम्टियो। ‘ममीलाई झम्टिएर लग्यो,’ सन्तोषले भने, ‘त्यपसपछि ममीले एक पटक चिच्याएर ‘बाबू’ भन्नुभयो।’

मोटरसाईकल सडकमा ढलिसकेको थियो। सन्तोषले पनि ममी–ममी भनेर कराए। रोए। तर उनको चित्कार बाघले सुनेन।

‘कराएपछि ममीलाई छोड्ला कि, भनेर म धेरै कराएँ,’ सन्तोषले भने, ‘तर, पापीले के छोड्थ्यो, त्यो अन्धकार रातमा कता लग्यो कता?’

सन्तोषका अनुसार बाघले सुरूमा उनैलाई टार्गेट गरेर झम्टिएको थियो। तर, उसको निसाना गुडिरहेको मोटरसाईकलका कारण चुक्यो। सन्तोषको दायाँ पट्टीको ज्याकेटको बाहुला च्यातिएको छ।

‘मलाई टार्गेट गरेर झम्टिएको बाघले बाहुला च्यातिपछि ममीलाई समात्यो र घिसार्दै लग्यो,’ सन्तोषले भने ‘मेरो होस नै भएन। के गरौं, के नगरौं भन्ने मनस्थितिमा पुगेछु। रूने कराउनेभन्दा अरू केही गर्न सकिनँ।’

झन्डै १०० मिटरको दूरीमा पछाडि ट्रक आइरहेको थियो। ट्रकको ढोका लगाएको भए पनि उनी रोईकराई गरेर ढोका खोल्न लगाए। त्यसपछि अन्य गाडी पनि पूर्वबाट आए।

बाघले आफ्नी ममीलाई तानेर लगेको भन्दै खोजी कार्यमा सघाउन हारगुहार गरे। तर, त्यो निष्पट्ट अँध्यारोमा जंगलमा छिर्न कसैले साहस गरेनन्। गाडीबाट ओर्लनै डराए।

बरू ट्रकका मानिसले मोटरसाईकल उठाउन र चाबी निकालेर राख्न सल्लाह दिए।

अरू सवारी साधनमा मानिसले सुरक्षाको कारण सन्तोषलाई पनि त्यहाँ नबस्न सुझाए।

गुडिरहेको मोटरसाईकलबाट मान्छे तानेर लाने नरभक्षी बाघको के विश्वास? सबैको सल्लाहमा सन्तोषलाई स्कार्पियोको मानिसले ५/६ मिटर पूर्वको अम्रेनी चेकपोष्टसम्म पुर्‍याउन सहयोग गरे।

निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई सन्तोषले सबै घटना विवरण सुनाए। उनीहरूले खोजीका लागि जान्छौं भनेर सन्तोषलाई शान्त्वना दिए। तर, खोजीमा गए नगएको उनले थाहा पाएनन्। रातभर सन्तोष निदाउन सकेनन् ।

उता घरमा सन्तोषकी श्रीमती चन्द्रा सुत्केरी थिइन्। उनको ९ दिन अघि मात्रै छोरा जन्मिएको थियो। सुत्केरी श्रीमती घरमा एक्लै थिइन्। साथमा मोबाइल नभएकाले सन्तोषले घरमा खबर पनि गर्न पाएनन्।

शनिबार उज्यालो भएपछि बाघले झम्टिँदा दुर्घटनामा परेको मोटरसाईकल चेक पोष्टमा राखेर सुरक्षाकर्मीसँग आमाको खोजी गर्न गए।

खोजी गर्दा शनिबार मध्यान्ह १२ बजेतिर मात्रै नन्दकलीको शव क्षतविक्षत अवस्थामा फेला पर्‍यो। अनुहार र दुबै तिघ्राको फिला बाघले खाएको थियो। देब्रे खुट्टा बाघले शरीरदेखि अलग पारेको अवस्थामा थियो। त्यो सबै सन्तोषले हेर्न पनि सकेनन्।

आफ्नै आमाको शरिर क्षतविक्षत अवस्थामा देख्दा सन्तानलाई कस्तो हुन्छ सहजै अनुमान गर्न सकिन्छ?

‘कल्पना नगरेकै घटना भयो, मैले यस्तो होला भनेर कहिलै सोचेको थिइनँ,’ सेतोपाटीको फोन सम्पर्कमा सुँक्क सुँक्क गर्दै सन्तोषले भने, ‘ममीलाई धेरै समय बचाउन उपचारका लागि अस्पताल लगेर गएको थिएँ, ‍बाटोमै बाघको निशानामा पर्दा ममीलाई गुमाउन पुगेँ।’

‘बाघले झम्टिएर लतार्दै लैजाँदा ममीले ‘बाबु’ भनेर गरेको पुकारले म अझैं झस्किरहन्छु,’ सन्तोषले भने, ‘आमाको त्यो चित्कार म कहिलै भुल्न सक्दिनँ। त्यो मेरो कानमा गुन्जिरहेको छ।’

लम्किबाट प्लसटु उत्तिर्ण गरेका सन्तोष घरको आर्थिक अवस्था र साहुको ऋण तिर्न भारत जाने तयारीमा थिए। तर, घरमा श्रीमती चन्द्रा दुई जिउकी भएकाले केही समयपछि जाने निर्णय गरेका थिए।

‘मेरो घरको मुल गार्जेन नै आमा हो,’ सन्तोषले भने ‘बुवा र दिदी रोजगारीका लागि इण्डिया बस्ने हुँदा घर व्यवहार सबै ममीले नै चलाउँदै आउनु भएको थियो।’

पहिले सुन्दा त विश्वास नै लागेन – श्रीमान नरेन्द्र

नन्दकलीका श्रीमान नरेन्द्र दसै तिहार मनाएर मंसिर ८ गते मात्रै इण्डिया गएका हुन्। उनी हरियाणास्थित एक कम्पनीमा काम गर्छन्। घर बिदामा आएका उनलाई मालिकले छिटो आउन ताकेता गरेपछि आफू फर्किएको उनले बताए।

‘साहुको ऋण तिर्नुछ, हामीलाई घरमै बसेर कहाँ पुग्छ, म पनि बिरामी छु, जानुहोस् भनेर बुढीले नै पठाएकी हुन्,’ नरेन्द्रले सेतोपाटीसँग भने, ‘छोरी र म इण्डियामै बसेर मजदुरी गरि घर खर्च पुर्‍याउँदै आएका छौं।’

घर सल्लाह अनुसार नै नन्दकली उपचार गर्न छोरासँग नेपालगञ्ज पुगेकी थिइन्। त्यो दिन (पुस १७ गते) दिउँसो १२ बजेतिर नरेन्द्रले श्रीमती नन्दकलीलाई फोन गरेका थिए।

‘फोनमा उनले टिभी निस्केको रहेछ भनिन्,’ नरेन्द्रले उनीहसँगको संवाद सम्झदै भने,‘टिभी अरू रोगजस्तो ठूलो होइन, नियमित औषधी खान नभूल्नू ठिक हुन्छ भनेर सम्झाएको थिएँ।’

त्यतिबेला नन्दकलीले म रोगी भएँ। तपाँई कसरी खर्च पुर्‍याउँनु हुन्छ? मलाई जति गरे पनि औषधी नलाग्ने भयो? ऋण कसरी चुकाकउनु हुन्छ भनेर चिन्ता गरेकी रहेछिन्। घरमा सुत्केरी बुहारी र नातिको राम्रो ख्याल गर्न आग्रह गर्दै नरेन्द्रले जवाफमा उनलाई ढुक्क भएर बस्न आग्रह गरेका थिए। उनले तलब बुझेपछि केही पैसा पठाउनेसमेत बताएका रहेछन्।

अफसोच त्यहीँ संवादनै नरेन्द्रले आफ्नी श्रीमतिसँग गरेको अन्तिम कुराकानी हुनपुग्यो। एकाएक शुक्रबार राति साढे १२ बजेतिर इण्डियामै बस्ने नरेन्द्रका साला वीरेन्द्र थापाले आफ्नी दिदीलाई बाघले तानेर बेपत्ता पारेको खबर दिए।

उनले विश्वासनै गर्न सकेनन्। औषधि गर्न पठाएकी श्रीमतीलाई बाघले तानेर लग्यो भनेर उनले कसरी विश्वास गर्न सक्थे र।

उनले सन्तोष र श्रीमती नन्दकलीलाई फोन सम्पर्क गर्न खोजे। तर दुबैको फोन स्वीच अफ थियो। रातभर प्रयास गरे फोनै लागेन। घरमा ९ दिनकी सुत्केरी बुहारीको मोबाईल थिएन। अन्यौंलका बीच छटपटाई रहे।

त्यहीँ अन्यौंल बीच नरेन्द्र राति नै नेपाल फर्कने निर्णय गरे। तर भनेको समयमा गाडी पाएनन्। ‘रातभर बसपार्कमा छटपटाउनुपयो। कतिखेर होस उडेझैं भयो,’ नरेन्द्रले भने, ‘अन्धकार रात र विरोनो मुलुकमा सम्हालिनुको विकल्प थिएन। छोरा बुहारीको मुहार याद आउँदा र जीवनप्रति आशा जाग्थ्यो।’

शनिबार बेलुका नरेन्द्र घर आउँदा उनकी पन्ती नन्दकलीको चिता तयार भइरहेको थियो। उनले श्रीमतीलाई अन्तिम श्रद्धाञ्जलीचै दिन भ्याए।

‘मैले त जीवनको साहारा नै गुमाए। अब राष्ट्रिय निकुञ्ज क्षेत्रमा मोटरसाईकलमा यात्रा गर्न प्रतिबन्ध लगाउनुपर्छ। ताकि, म जस्तै अरूले जीवनसाथी गुमाउनु नपरोस्,’ उनले भने।

मृतकका घरमा दुई छाेरी र कान्छा एक छाेरा हुन्। ती महिलाकाे पहिले पनि अर्को बिहे भएकालेे त्यताबाट दुई छाेरा थिए। अहिले तीन भाइ र दुई बहिनी आमाकाे अन्तिम कार्यका लागि लम्किचुहा ४ काे घरमा बसेका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्