Saturday, April 17

अभिनेत्री मनीषा कोइराला पृथ्वी जयन्ती मनाउन आउने, पूर्व डिआइजी रमेश खरेलसँग सहकार्य

January 6, 2021 166

काठमाडौ । बलिउड अभिनेत्री मनीषा कोइराला पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउन नेपाल आउनुहुने भएको छ । उहाँ हाल भारतको मुम्बई हुनुहुन्छ । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल लगायतले मनाउन लागेको पृथ्वीजयन्तीका लागि आयोजककै रुपमा कोइराला आउन लाग्नुभएको हो ।

पर्यटन व्यवसायी भरत बस्नेतमार्फत् अभिनेत्री कोइरालासँग कुराकानी भएको र कोइराला पनि पृथ्वी जयन्ती मनाउन आउने भएको खरेलले जानकारी दिनुभएको छ । बस्नेतले धेरै पहिलेदेखि पृथ्वी जयन्ती मनाउँदै आउनुभएको छ । ‘यसपालि भरत बस्नेतजीले नै कुरा गरेर मनीषाजी पनि आउनुहुने हो,’ खरेलले भन्नुभयो अहिले हामी पृथ्वी जयन्तीका लागिमात्रै एक ठाउँमा आएका हौं।

खरेलले पछिल्लो समय ‘हाम्रो नेपाल र सुशासन अभियान’ चलाइरहनुभएको छ भने कोइराल क्यान्सरविरूद्धको अभियानमा सक्रिय हुनुहुन्छ । उहाँहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर पुस २७ गते मनाइने पृथ्वी जयन्तीको कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्छ । नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेकाले उहाँको सम्मानमा विभिन्न कार्यक्रमहरू गर्न लागिएको खरेलले जानाकरी दिनुभयो ।

कोइराला नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाकी नातिनी हुनुहुन्छ । उहाँका बुवा प्रकाश कोइरालामा भने राजा ज्ञानेन्द्रले शासन लिएका बेला मन्त्री बन्नुभएको थियो । उहाँ अहिले राजतन्त्रका पक्षमा उभिनुभएको छ । कोइरालाले आफ्नो नेतृत्वमा नेपाली कांग्रेस (बिपी) पार्टी खोलेर राजनीतिक जीवन अघि बढाउनुभएको थियो ।

गणतन्त्र आउनुअघि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्थ्यो भने सरकारले सार्वजनिक विदा दिने गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र सार्वजनिक विदा दिन माग गरिरहेको छ।

प्रतिकृया दिनुहोस्