Sunday, July 25

भोलिबाट लकडाउन खुकुलो बनाउंदै गर्दा संक्रमणको आज आयो यस्तो अपडेट

June 21, 2021 281

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२९७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ । हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ४६ जनाले कोभिड–१९ को संक्रमणबाछ ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

यसै क्रममा सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ । उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।

निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यस्तै, मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् । ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् । हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

प्रतिकृया दिनुहोस्