Saturday, June 19

एकै घरका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, वडाध्यक्ष भन्छन् : गाउँ नै सखाप होला जस्तो भो

May 15, 2021 221

काठमाडौ । बागलुङमा विहे भोजका कारण गाउँमै विपत्ती निम्तिएको छ । गाउँनै संक्रमित भएको छ भने एकै परिवारका ४ जनाको मृत्यु भएको छ । अहिले स्थानिय प्रशासनले सो गाउँ सिल गरेको छ । बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते भएको विवाहमा सहभागीहरु संक्रमित भएका हुन् ।

उनीहरुवाटै गाउँमा पनि महामारी फैलिएको छ । सुरुमा जसको विवाह थियो उनकै हजुरवुवा अस्वस्थ्य भए । ८७ वर्षीय हजुरवुवालाई स्वास्थ्यमा समस्या आएपछि उनलाई बैशाख १७ गते धौलागिरि अस्पतालमा उपचारका लागि भर्ना गरियो ।

पोजेटिभ रिपोर्ट देखिएका उनको अस्पतालमा उपचारकै क्रममा २३ गते ती पुरुषको मृत्यु भयो । त्यसपछि लगातार उनकै घरका परिवारका ४ जनाको मृत्यु भएको हो । ८७ वर्षका बुवाका ४० वर्षका छोरालाई पनि स्वास्थ्यमा समस्या आयो । उनी ति बुवाका कान्छो छोरा थिए । यता कान्छा छोराको उपचार हुँदै गर्दा भैरहवामा रहेका जेठो छोरालाई पनि स्वास्थ्यमा समस्या देखियो ।

बैशाख ३० गते कान्छाको धौलागिरि अस्पताल र जेठा छोराको पोखरामा उपचारकै क्रममा मृत्यु भयो । त्यो परिवारमा यतिमै मात्र वज्रपात पर्न रोकिएन आइतबारमात्रै परिवारकी जेठी छोरी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको छ । उनी पनि धौलागिरि अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

फाइल तस्विर
‘हिजो र आजै २ जना शंकास्पदको मृत्यु भयो । उहाँहरुको स्वाब परीक्षण नै गरेका छैनौं,’ वडाध्यक्ष गलामी भन्छन्, ‘गाडीबाट जान पनि टाढै छ । गाउँले बिरामी भएर सबैको अवस्था गम्भीर छ । हात उठाउनेबेला भइसक्यो ।’ उनका अनुसार गाउँलाई अहिले पूर्ण तरिकाले सिल गरिएको छ ।

बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको कोरोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५ जनामा कोरोना देखियो,’ उनले भने, ‘अहिले गाउँ नै बिरामी परेका छन् । हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो ।’

विवाहमा सहभागी भएका सोही गाउँका धेरैको स्वास्थ्यमा समस्या देखिएको छ । गाउँका सबै रुघाखोकी र उच्च ज्वरोले थलिएका छन् । परिक्षण गर्दा ४९ जनामा पोजेटिभ रिपोर्ट आएको छ । गाउँपालिकामा त्यती धेरै संक्रमितलाई राखेर उपचार गर्ने वेड नभएका कारण समस्या भएको छ ।

प्रतिकृया दिनुहोस्