Thursday, April 22

भागेर मुम्बई पसेका धनुषाका मनोज बने बलिउड सेलेब्रेटी फोटोग्राफर

January 24, 2021 124

बलिउड सेलेब्रेटीलाई अगाडि उभ्याएर आफ्नो क्यामरामा कैद गर्ने सपना थोरैको मात्र पूरा हुन्छ। यिनै थोरैमध्ये पर्छन् धनुषाका मनोज महरा।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका मनोज विपन्न परिवारमा हुर्केका हुन्। तर उनको मिहिनेत र संघर्षले आज उनलाई बलिउड सेलेब्रेटीमाझ फोटोग्राफरका रूपमा चिनाएको छ।

मनोज बलिउडमा फ्रिल्यान्स फोटोग्राफर हुन्।

‘म मुख्यगरी बलिउड सेलेब्रेटीका तस्बिर खिच्छु,’ जनकपुरमा सेतोपाटीसँगको भेटमा २७ वर्षीय मनोजले भने, ‘बेलाबेला उनीहरूका निजी कार्यक्रम र प्रयोजनको फोटोग्राफीका लागि पनि बोलाउँछन्।’

उनले टेलिसिरियलका मुख्य कलाकारदेखि अमिताभ बच्चन, शाहरूख खान, सलमान खान, इरफान खान, रणवीर कपुर, दीपिका पादुकोण, प्रियंका चोपडा लगायत धेरैजसो चर्चित सेलेब्रेटीका फोटो खिचिसकेका छन्।

‘मैले खिचेका फोटा भारतका ठूल्ठूला मिडियाले किन्छन्,’ उनी भन्छन्, ‘सेलेब्रेटीहरू पनि मैले खिचिदिएका फोटा मनपराउँछन्।’

उनी मासिक ५० हजार भारू कमाउँछन्। यसबाहेक आफूले खिचेका फोटा पत्रपत्रिकालाई बेचेर थप आम्दानी गर्छन्।

मनोजले कैद गरेका फोटा-भिडिओ बलिउड कलाकारले आफ्ना सामाजिक सञ्जालमा पनि राखिरहेका हुन्छन्। मनोजकै इन्स्टाग्राममा २६ हजारभन्दा बढी फलोअर्स छन्।

धनुषाको एक विपन्न परिवारमा जन्मेका मनोज बलिउड कसरी पुगे त? यसको मुख्य कारण उनलाई पढ्न मन नलाग्नु हो।

ज्याला-मजदुरी गरेर गुजारा चलाउने मनोजका आमाबुवाको एउटै सपना थियो- छोराले खुब पढोस्। आफूले जस्तो दुःख गरेर जीवन चलाउनु नपरोस्।

त्यसैले उनीहरूले दुखजिलो गरेर उनलाई स्कुल भर्ना गरिदिए। कापी, कलम र सुतीको बोरा बोकाएर उनलाई सधैं स्कुल पठाउँथे। मनोजलाई भने पढ्न अलिकति पनि रूचि थिएन।

‘आमाबुवाको मन राख्नै भए पनि झोला बोकेर घरबाट निस्किन्थेँ तर स्कुल पुग्दिन थिएँ,’ उनले आफ्नो बालापन सुनाए, ‘कहिले साथीहरूसँग आँप बगैंचामा खेलेर बिताउँथेँ। कहिले यताउति गरेर।’

स्कुल छुट्टी भएपछि उनी अरू विद्यार्थीझैं समयमै घर पुग्थे। यो क्रम केही वर्ष चल्यो। तर आमाबुवाले पढाइका लागि गरेको आग्रह मनोजले विस्तारै दबाब मान्न थाले। पढाइ-लेखाइको भार थामिनसक्नु भइसकेको थियो उनलाई। अनि यसबाट सदाका लागि छुटकारा पाउने उपाय खोजे- घरबाट भाग्ने।

यो योजना बनाइरहँदा मनोज मात्र ११ वर्षका थिए।

मुखियापट्टी गाउँपालिका र भारत, बिहारको मधवापुरबीच दुरी धेरै छैन। यहाँका नेपाली खानेदेखि लाउनसम्मका लागि दिनहुँ यो सीमा आरपार गर्छन्। मनोजका लागि पनि नाकासम्म पुग्नु सामान्य थियो।

करिब १५ वर्षको हुँदा एकदिन बिहानै उठेर कसैलाई खबरै नदिई उनले मधवापुर सीमा नाघे। भारतका सहरमा हराउँदै, बरालिँदै मुम्बई पुगे।

‘मसँग एक रूपैयाँ पनि थिएन,’ उनले भने, ‘मुम्बईसम्म कसरी पुगेँ, अहिले सम्झिँदा पनि आङ सिरिंग हुन्छ।’

यो १२ वर्ष पहिलेको कुरा हो। त्यति बेला मनोजले सपनाको सहर मुम्बईमा स्थापित हुने सोचेका पनि थिएनन्। न खाने-बस्ने टुंगो, न कोही आफन्त, न कुनै काम। उनलाई घरको न घाटको भएझैं भयो।
सुरूमा उनले मगन्ते जीवन बिताए। त्यहाँका सडक बालबालिकाले बस-रेल्वे स्टेसनमा बसेर मागेजस्तै उनी पनि दिनभर माग्थे। रात परेपछि फुटपाथमा उनीहरूसँगै सुत्थे। यसरी नै उनले करिब १० महिना सडकमा बिताए।

तर उनलाई सधैं जिन्दगी यसरी कट्छ भन्ने लागेन र कामको खोजीमा लागे।

‘पढाइबाट छुटकारा पाउन घर छाडेर त्यहाँसम्म पुगेको थिएँ। तर सडकमा मागेर खान मनले अनुमति दिएन,’ उनले भने, ‘अनि सडकमै बास बसिरहेकाहरूलाई काम खोजिदिन आग्रह गरेँ।’

उनीहरूले सुरूमा त ‘यो पनि कामै हो, यही गरेर हामीसँगै बस’ भनेछन्। मनोजलाई भने त्यहाँबाट जसरी पनि निक्लिनु थियो।

‘मैले अरू जे काम खोजिदिए पनि गर्छु, तर अब भिक माग्न सक्दिनँ भनेपछि उनीहरूले नै काम खोज्न मद्दत गरे,’ उनले भने।

करिब एक वर्ष मुम्बईको सडकमा बाँचेका उनलाई थाहा भइसकेको थियो, काम पाउन मुश्किल छ।

‘मलाई न पढ्न आउने, न लेख्न,’ उनले हाँस्दै सुनाए, ‘त्यसैले जस्तोसुकै काम पाए पनि गर्छु भन्ने मन बनाइसकेको थिएँ। मेरो पहिलो काम झाडु-पोछा लगाउने, भाँडा माझ्ने भयो।’

मनोजका अनुसार मुम्बईमा घरघर गएर सफाइ गर्ने र भाँडा माझ्ने कामलाई घरखाता भनिन्छ। यो कामबाट उनले मासिक २ हजार भारू पाए। करिब तीन वर्ष घरखाताको काममै रमाइरहेका मनोजको भेट एकदिन त्यही बस्तीका बासिन्दा रमाकान्त मुण्डेसँग भयो।

रमाकान्तले मनोजलाई आफ्नो घरको काम गरिदिन भने। त्यसबापत घरखाताकोभन्दा बढी तलब दिने भए।

‘दुई-तीन हजार बढी तलब दिने भनेपछि मैले अस्वीकार गर्ने कुरै आएन,’ उनले भने, ‘मैले अवसर गुमाउन चाहिनँ। घरका सबै काम गरिदिन्छु भनेँ।’

रमाकान्तकहाँ काम गर्न पुग्दा मनोज ठूल्ठूला क्यामरा देख्थे। रमाकान्त बलिउड सेलेब्रेटीका फोटो खिच्दा रहेछन्। विस्तारै मनोजलाई पनि सेलेब्रेटीका तस्बिर खिच्ने रहर जाग्न थाल्यो।

‘सुरूमा मुम्बई छिर्दा सपना के हो भन्ने कुराबाट म कोशौं टाढा थिएँ। गुरुजीको घरमा काम गर्दै जाँदा म उहाँजस्तै ठूलो फोटोग्राफर बन्न पाए सेलेब्रेटी भेट्ने मौका पाउँथे होला भन्ने लाग्न थाल्यो। म पनि ठूलो मान्छे बनेको सपना बुन्न थालेँ,’ रमाकान्तलाई गुरु मान्ने मनोजले भने।

रमाकान्त कहिलेकाहीँ उनलाई बोलाएर बलिउड सेलेब्रेटीका आफूले खिचेका फोटा देखाउँथे। यसरी उनलाई फोटोग्राफी र बलिउडले तान्दै गयो।

‘तर बलिउड प्रवेश गर्न व्यावसायिक फोटोग्राफर नै दिनरात खुट्टा खियाइरहेका हुन्छन्, म प्राथमिक तहको शिक्षासम्म प्राप्त नगरेका लागि आकाशको फल सरह थियो।’

बलिउडको प्रख्यात डाइलग छ- अगर किसी चीजको शिद्दत से चाहो तो पूरी कायनात तुम्हे उससे मिलाने में लग जाती है।

आखिर मनोजको सपनाको क्यानभासमा पनि एकदिन रङ पोतियो।

‘गुरुजी फिल्डबाट फर्किएपछि आफ्ना क्यामरा सधैं एउटा टेबलमा राख्नुहुन्थ्यो। एकदिन उहाँलाई नसोधी मैले क्यामरा चलाएँ। उहाँले देख्नुभयो,’ मनोज त्यो अवस्मरणीय क्षण सुनाए, ‘उहाँले त फ्याट्टै क्यामरा चलाउन सिक्छौ त भनेर सोध्नुभयो।’

रमाकान्तको कुरा सुनेर मनोजलाई के गरूँ, कसो गरूँ भएछ। आत्तिएर मुटु जोडजोड धड्किन थाल्यो। अवाक भएका उनलाई रमाकान्तले फेरि त्यही सोधे, ‘तिमीलाई क्यामरा सिक्ने मन छ?’

‘त्यो मौका भने मैले गुमाइनँ। होस सम्हाल्दै हो गुरुजी भनेँ,’ मनोज यो घटना सुनाउँदा अहिले पनि रोमाञ्चित देखिए।

क्यामरा चलाउन सिकाएवापत रमाकान्तले एउटा शर्त राखे- मनोजले घरमा काम गरेबापत एक पैसा नदिने। खान, लाउन र बस्ने व्यवस्था भने मिलाइने।

मनोजका अगाडि अवसर र चुनौती एकसाथ खडा भए। निःशुल्क काम गरेर फोटोग्राफी सिक्ने कि यो रहर छाडेर जीवनभरि त्यही पेसा छ-आठ हजार तलब थाप्ने?

धेरै सोचेपछि उनले अवसर नै रोजे। अरू सबैतिर छाडेर रमाकान्तको घरमा सित्तैमा काम गरिदिने उनको निर्णय जीवनकै ‘टर्निङ प्वाइन्ट’ बन्यो। फोटोग्राफर रमाकान्तले मनोजलाई आफ्नो शिष्य नै बनाए। उनलाई फोटोग्राफी मात्रै सिकाएनन्, बलिउड कलाकारसँग चिनजान र सम्पर्क पनि गराइदिए।

अनि त विस्तारै मनोजले आफ्नै क्यामरामा बलिउड सेलेब्रेटीका अनुहार कैद गर्न थाले। उनको फोटोग्राफीले व्यावसायिक मान्यता पाउँदै गयो। यो यात्राको छैठौं वर्ष बिताइरहेका मनोज भन्छन्, ‘म यहाँसम्म पुगुँला भन्ने सोचेको थिइनँ, सपना देखेको थिएँ। पूरा हुँदैछ।’

दुई छोरीका बुवा मनोजले बलिउडमा पहिचान बनाउँदै गए पनि धनुषास्थित घरको अवस्था राम्ररी उक्सिसकेको छैन। वर्षौंको गरिबी एकाएक निमिट्यान्न कहाँ हुन्छ र? उनकी आमा र श्रीमती अहिले पनि अरूको खेतबारीमा काम गरिरहेका छन्। उनीहरूलाई अरूको काम गर्नुपर्ने अवस्थाबाट सक्दो चाँडो निकाल्न मनोज दिनरात खटिरहेकै छन्।

‘विस्तारै कमाइ राम्रै भइरहेको छ। अब यही काममा स्थापित हुने सोच हो,’ उनी भावी योजना सुनाउँछन्, ‘पछि परिवारलाई पनि मुम्बईमै सेटल गर्ने सोचेको छु।’

प्रतिकृया दिनुहोस्