Sunday, July 25

आजदेखि मनसुन थप सक्रिय, आगामी म‍ंगलबारसम्मै देशभर वर्षाको सम्भावना

July 4, 2021 157

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी म‍ंगलबारसम्मै देशभर वर्षाको सम्भावना रहेको बताएको छ। उसले देशभर मनसुनी वायुको प्रभाव रहेको र तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले वर्षा अझै केही दिन जारी रहने र तत्काल कमजोर बन्ने अवस्था नरहेको जनाएको छ।

तर, केही ठाउँमा परीरहेको लगातारको झरी भने रोकिएको छ। मौसमविद विभूति पोखरेलले आज भने हिजोअस्तिको जस्तो लगातार पानी पर्ने सम्भावना केही कम भएपनि केही ठाउँमा ठूलो पानी पर्नसक्ने बताइन्। आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान रहेको उनले बताइन्।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाकोसमेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्