Saturday, May 28

अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु

July 11, 2021 232

काठमाडौं : कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूर सञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ । साउन १ देखि प्रारम्भिक रूपमै भए पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

करिब पाँच वर्षको प्रयत्नपछि मोबाइल संयन्त्र व्यवस्थापन प्रणाली (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को परीक्षणको प्रयोगमा प्राधिकरण जुटेको छ। यद्यपि यसका लागि आवश्यक हार्डवेयर नेपाल आइनसकेकाले यसको पूर्ण कार्यान्वयन भने अझै केही महिना हुने छैन ।

प्राधिकरणका अनुसार साउन १ पछि हाल जडान गरिएको एमडीएमएसको सफ्टवेयरले नेपालमा अहिलेसम्म प्रयोग भइरहेका वैध र अवैध मोबाइल चिन्नेछ । सफ्टवेयरले वैध मोबाइललाई श्वेत सूची (ह्वाइट लिस्ट) र अवैधलाई कालो सूची (ब्ल्याक लिस्ट)मा राख्नेछ । साउन १ अघि प्रयोगमा रहेका र कालोसूचीमा परेका मोबाइललाई भने ह्वाइट लिस्टमा रूपान्तरण गरिने अध्यक्ष खनालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्