Monday, July 26

कोपा अमेरिकाको फाइनलमा देखिएको भावुक दृष्य, मेसीको अंगालोमा नेमार

July 11, 2021 157

एजेन्सी । आइतबार बिहान रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई हराउदै उपाधि जित्यो । एन्जल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा हरायो ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।

मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन ।

आइतवारको फाइनल खेलमा भने मेसी र नेमारले गोल गर्न सकेनन् । रेफ्रीले खेल सकिएको सिठी बजाउनेबित्तिकै खेल मैदानमा जुन दृष्य देखियो त्यसले भने सबैलाई भावुक बनायो । जितको घोषणा संगै मेसी मैदानमा घुँडा टेकर खुसी मनाउन थाले । सबै अर्जेन्टिनी खेलाडी उनी भएको ठाउँङ्तिगा गएर अंगालो मारेर खुशी मनाए । उता नेमारको आँखामा भने आँशु थियो ।

२८ वर्षपछि च्याम्पियन बनेको अर्जेन्टिनी टोली धुमधामका साथ खुशीयाली मनाइरहेका थिए । त्यसै बेला नेमार पनि अर्जेन्टिनी टोलीनजिक थिए । त्यसपछि मेसी र नेमारले अंकमाल गरे । करिब एक मिनेट उनीहरुले अंकमाल गरिरहे । उनीहरुले आफ्नो मित्रतालाई उस्तै रहेको देखाए ।

खेलमा हार जित हुन्छ नै तर त्यसलाई आत्मसाथ गरेर मित्रता देखाउँदा त्यो क्षण उत्कृष्ट देखिएको थियो । सामाजिक सञ्जालमा अहिले मेसी र नेमारबीचको अंकमालको दृश्य चर्चाको विषय बनेको छ र धेरैले यो तस्वीरलाई सेयर गरेका छन् ।

अर्जेन्टिनाका लिओनल मेसी र ब्राजिलका नेमारले स्पेनिस क्लब बार्सिलोनाबाट केही वर्ष संगै खेले । उनीहरुले केही उपाधि सँगै पनि जिते । त्यसपछि नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागे, मेसी बार्सिलोनामै रहे ।

बार्सिलोनामा रहँदा यी दुईबीच घनिष्टता थियो । तर राष्ट्रिय टिमबाट खेल्दा भने यी दुई एक अर्काका विरुद्ध हुन्थे । कोपा अमेरिका फुटबलको फाइनलअघि पनि नेमारले आफूहरु मिल्ने साथी भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्