Sunday, September 19

कोरोना खोप लगाएकी मन्त्री पाण्डेको स्वास्थ्य अवस्था गम्भिर

July 28, 2021 212

काठमाडौँ । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको स्वास्थ्य अवस्था गम्भिर देखिएको छ।

असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएकी उनी त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा भर्ना भएकी थिइन्।

त्यसपछि बुटवलको अस्पतालमा ल्याइएकी उनलाई त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ ल्याइएको छ। हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। कोभिसिल्ड खोप लगाएपछि कमजोर हुँदै गएकी उनका दुबै खुट्टा नचल्ने र शरीर शिथिल अवस्थामा पुगेको हो।

चिकित्सकहरुले पाण्डेलाई न्युरो सम्बन्धी रोग लागेको र कोभिड खोप लगाएपछि त्यो रोग अलि छिटो देखिएको आशंका गरेको उनका श्रीमान् नवराज लम्सालले जानकारी दिए।

शरीर शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको र श्वास प्रश्वासमा समेत समस्या भई बोल्न नमिल्ने अवस्थामा पुगेको उनको भनाइ छ।

चिकित्सकहरूका अनुसार उनमा भाइरसका कारण हुने समस्या देखिएको छ। शरीर प्यारालाइसिस हुन नदिन र फोक्सो, मुटुजस्ता अंग जोगाउनका लागि विशेष सुई प्रयोग गर्ने गरिएको छ।

चिकित्सकहरुले उनको उपचारमा लामो समय लाग्न सक्ने जनाएको परिवारले बताएका छन्। सरकारमा सामेल भए पनि उनको उपचारका लागि प्रदेश सरकारले हालसम्म कुनै सहयोग नगरेको परिवारजनको गुनासो छ।

पाण्डे जनता समाजवादी पार्टी (जसपा) नेपालको ठाकुर पक्षबाट गत वैशाख १९ गते प्रदेश सरकारमा सामेल भएकी थिइन्। मन्त्री भएलगत्तै उपेन्द्र यादव पक्षको कारवाहीमा परेकी उनीसहित जसपाका सांसद सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका हुन्।

प्रतिकृया दिनुहोस्